भेरी अस्पतालमा डायलाइसिस सेवा विस्तार, दैनिक ३० जनाको उपचार

नेपालगञ्ज । भेरी अस्पतालमा थप चार वटा डायलाइसिस मेसिन सञ्चालनमा आएपछि केही समययता मिर्गौला पीडित बिरामीको उपचारमा सहजता भएको छ । सेवा विस्तारसँगै अस्पतालको दैनिक उपचार क्षमता बढेको अस्पतालले जनाएको छ ।
यस अघिसम्म ६ वटा मेसिनमार्फत तीन सिफ्टमा दैनिक १८ जनाको मात्र डायलाइसिस हुने गर्थ्यो । तर, अहिले सेवा विस्तारपछि १० वटा मेसिनले तीन सिफ्टमा दैनिक ३० जना बिरामीले उपचार लिइरहेका छन् । आपतकालीन डायलाइसिस सेवा समेत अस्पतालले उपलब्ध गराइरहेको जनाएको छ ।
अस्पतालका डायलाइसिस विभाग प्रमुख तथा मिर्गौला रोग विशेषज्ञ डा.पारस श्रेष्ठका अनुसार, मेसिन थपिएका कारण पहिलेदेखि देखिँदै आएको भीड र पालो कुर्नुपर्ने समस्या धेरै घटेको छ ।
हेपाटाइटिस वा एचआइभी संक्रमित सेरोपोजेटिभ बिरामीका लागि छुट्टै दुई वटा मेसिन छुट्याइएको छ, जसले संक्रमण नियन्त्रण र संवेदनशीलतामा थप सुरक्षित वातावरण प्रदान गरेको छ ।
डा.श्रेष्ठका अनुसार सेवा विस्तारपछि पनि करिब १८ जना बिरामी अझै पालो कुरिरहेको अवस्था भने कायम छ । “मेसिन थप भए पनि दक्ष जनशक्तिको अभाव अहिलेको मुख्य चुनौती हो । दक्ष जनशक्ति बढेमा २४ घण्टै सेवा दिन सकिन्छ,” डा.श्रेष्ठ भन्नुहुन्छ ।
स्वास्थ्य सेवा विभागबाट प्राप्त तीन मेसिन र अस्पतालले आफैँ मर्मत गरी तयार पारेको एक मेसिन जोडिँदा भेरी अस्पतालले चार वटा अतिरिक्त मेसिन सञ्चालनमा ल्याउन सफल भएको हो ।
बाँकेका अस्पतालहरूमा नेपालगञ्ज र आसपासका जिल्लाबाट दैनिक रूपमा मिर्गौला पीडित बिरामीको चाप बढ्दो छ । भेरी अस्पतालमा डायलाइसिस सेवा विस्तारले धेरै बिरामीको उपचारमा राहत पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्