नेपाल लोकतान्त्रिक यात्रामा दृढतापूर्वक अगाडि बढिरहेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीज्यू अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा सरिक हुनुभएको छ।
नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उहाँले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यहरूमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट अस्ट्रेलियाका जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले हालसालैको जेनजी आन्दोलनपछि नेपाल आफ्नो लोकतान्त्रिक यात्रामा दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सम्बोधनका क्रममा भन्नुभयो, ‘यस आन्दोलनले हाम्रो युवा पुस्ताले जबाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो। मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसैअन्तर्गत हामी आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ।’
अस्ट्रेलियाबाट प्राप्त मैत्रीभाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रूपान्तरणप्रतिको समर्थनलाई उहाँले अत्यन्त मूल्यवान् भन्दै प्रधानमन्त्री कार्कीले कृतज्ञता पनि व्यक्त गर्नुभयो।
नेपाल र अस्ट्रेलियाका बीचमा औपचारिक सम्बन्ध स्थापना भएदेखि नै निरन्तर मित्रता सुदृढ हुँदै आइरहेको बताउँदै उहाँले शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्त्वपूर्ण क्षेत्रहरूमा दशकौंदेखिको सहकार्यका लागि आभार व्यक्त गर्नुभयो।
नेपाल र अस्ट्रेलियाले विभिन्न अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चहरूमा एकअर्कालाई समर्थन गर्दै आएको सन्दर्भ अगाडि सार्दै उहाँले यसबाट दुई देशबीचका साझा मूल्य र हितलाई प्रस्ट पारिरहेको बताउनुभयो।
हजारौँ नेपाली विद्यार्थीले अस्ट्रेलियाका विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गरेको र आज पनि उनीहरू नेपाल र अस्ट्रेलिया दुवै देशको प्रगतिमा योगदान गरिरहेको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘अस्ट्रेलियामा बसोबास गर्ने करिब दुई लाख नेपाली हाम्रो दुई देशबीच जीवन्त सेतु बनेका छन्, जसले हाम्रो सम्बन्धमा थप निकटता र आत्मीयता जोडेको छ।’
पर्यटन, प्रविधि तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्यका नयाँ अवसरहरू सिर्जना गर्दै नेपालमा बढाइरहेको लगानीप्रति उहाँले प्रसन्नता पनि व्यक्त गर्नुभयो।
नेपाल–अस्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत लियान जोन्स्टनले दिनुभएको योगदानप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो। साथै उहाँको समर्पण तथा व्यक्तिगत संलग्नताले दुई मुलुकबिचको आपसी समझदारी र सहकार्यमा उल्लेखनीय प्रगति ल्याएको प्रधानमन्त्री कार्कीले बताउनुभयो।
कार्यकाल समाप्त भई अस्ट्रेलिया फर्कँदै गर्दा आगामी जिम्मेवारीहरू सफल एवं सार्थक हुन सकुन् भन्दै राजदूत जोन्स्टनलाई शुभकामना पनि दिनुभयो।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘नेपाल–अस्ट्रेलिया मैत्रीपूर्ण सम्बन्धलाई निरन्तर समर्थन गरिरहनुहुनेछ भन्ने आशा गर्दछु। नेपाल र अस्ट्रेलियाबिचको मित्रता पुस्तौँ–पुस्तासम्म अझ प्रगाढ र समृद्ध बन्दै जाओस्।’








प्रतिक्रिया राख्नुहोस्