मोबाइल र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशव्यापी जागरण अभियान
नेपालगञ्ज । इस्लामी संघ नेपालले आजदेखि मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशव्यापी जागरण अभियान सुरु गरेको छ ।

सङ्घले ६ दिने अभियानको शुभारम्भ गर्दै सकारात्मक र निर्माणात्मक सोचलाई विकास गर्न समाजका सबै बर्गलाई अपिल समेत गरेको छ । मोबाइल र सामाजिक सञ्जालको अत्यधिक, अनावश्यक, अनियन्त्रित र अनुचित प्रयोगले समाजलाई एक्लोपन र नैतिक पतनको खाडलतर्फ धकेलिरहेको भन्दै अभियानको आवश्यकता महसुस गरेर जागरण अभियान थालिएको इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश पश्चिमका अध्यक्ष ओबैदुर्रहमान खानले बताउनुभयो ।
नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत सङ्घले अभियानको कार्यतालिका सार्वजनिक गरेको हो । नेपालगञ्जको जैसपुरबाट अभियान शुभारम्भ गरिएको छ । विद्यालय, मदरसालाई केन्द्रित गरी अभियान चलाइने सचिव बद्रे आलम खानले जानकारी दिनुभयो । अहिलेको युग वैज्ञानिक प्रगति र डिजिटल क्रान्तिको युग भएको तथा मोबाइल फोन र सामाजिक सञ्जाल निःसन्देह ठूलो बरदान भए पनि यसको सही प्रयोग आवश्यक रहेको बताउँदै अध्यक्ष खानले अनुचित प्रयोगले समाजलाई हानी गर्ने उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले सङ्घले निकै सान्दर्भिक र सामयिक अभियान थालेको भन्दै यसमा मिडियाको साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्