तपाईँ सुन्दै हुनुहुन्छः

फागुन २१ गते निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध : मन्त्री शर्मा

भक्तपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले सरकार शान्ति सुरक्षा कायम गरेर फागुन २१ गते निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज  भक्तपुर क्यान्सर अस्पतालको ३१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले निर्वाचन समयमै सम्पन्न गर्न आवश्यक वातावरण सिर्जना गर्नका लागि सबै राजनीतिक दलहरूलाई सक्रिय हुन आग्रह गर्नुभयो ।

मन्त्री शर्माले निर्वाचन समयमै सम्पन्न हुनेमा विश्वास दिलाउँदै आम मतदातालाई आश्वस्त पार्ने काममा सम्बन्धित सबै पक्षलाई केन्द्रित हुन आग्रह गर्नुभयो ।

सरकारको मुख्य कार्यभार निर्वाचन गर्नु रहेको बताउँदै त्यसका लागि सकारात्मक वातावरण बनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

तीनै तहका सरकार र दलमार्फत जनतालाई निर्वाचनका लागि आश्वस्त पार्ने काममा लाग्नुपर्नेमा जोड दिँदै उहाँले जेनजी आन्दोलनको माग देशमा आमूल परिवर्तन ल्याउनुपर्छ भन्ने नै रहेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले जेनजी आन्दोलनले दिएको म्यान्डेट अनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको बताउनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्याको तत्काल समाधान गर्ने बताउँदै उहाँले सरकारले संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्यको अधिकारलाई कानुन बमोजिम उपलब्ध गराउन जोड दिने बताउनुभयो ।

मन्त्री शर्माले स्थानीय सरकारलाई स्वास्थ्य सेवा उपलब्ध गराउन संघीय सरकारले सशर्त अनुदानको व्यवस्था गरेको भन्दै आधारभूत अस्पताल, स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य  संस्थामा निःशुल्क उपलब्ध औषधिहरूको प्रभावकारी वितरणका लागि स्थानीय सरकारलाई सचेत गराउनुभयो । 

प्रत्येक स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालमा सरकारले तोकेको ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध हुनुपर्नेमा जोड दिँदै सबै बिरामीले औषधि पाउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर, बागमती प्रदेशकै संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.श्रीकृष्ण श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसे लगायतले अस्पतालले प्रदान गर्ने सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button