झुलाघाट सीमा नाकामा कृषि क्वारेन्टाइनको काम ठप्प
बैतडी। बैतडीको झुलाघाटस्थित नेपाल–भारत सीमा नाकामा रहेको कृषि क्वारेन्टाइन कार्यालय झुलाघाटको कामकाज ठप्प रहेको छ ।

सीमा नाकाबाट आयात तथा निर्यात हुने कृषि उपजको स्वच्छता परीक्षण गर्ने कार्यालयको कामकाज ठप्प रहेको हो ।
पछिल्लो समयमा प्रशासनिक कामबाहेकका सेवा पूर्ण रूपमा ठप्प भएको कार्यालय प्रमुख टेक बहादुर बिकले जानकारी दिनुभयो । कृषि उपजको मापन प्रक्रिया अनलाइनको माध्यमबाट हुने गरिएकाले कार्यालयबाट सो परीक्षण नहुने गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार नेपाल सरकारले एनडीएफ ( National Single Window Digital Facilitation System)प्रणाली लागू गरेसँगै झुलाघाट क्वारेन्टाइन कार्यालयमार्फत हुने प्रत्यक्ष परीक्षण कार्य रोकिएको कार्यालय प्रमुख बिकले बताउनुभयो । नयाँ प्रणाली लागू भएपछि सबै प्रक्रिया डिजिटल माध्यमबाट केन्द्रीय रूपमा सञ्चालन हुने भएकाले स्थानीय क्वारेन्टाइन कार्यालयमार्फत हुने भौतिक परीक्षण, प्रमाणपत्र वितरण र निरीक्षण कार्य हाल रोकिएको क्वारेन्टाइन कार्यालय झुलाघाटका प्रमुख बिकले बताउनुभयो ।
यसअघि कार्यालयले भारतबाट आउने फलफूल, तरकारी, दाल, बीउ, खाद्यान्न, काठका सामग्री र बोटबिरुवाको रोग परीक्षण र स्वच्छता प्रमाणपत्र जारी गर्दै आएको थियो । त्यसका साथै नेपालबाट भारततर्फ निर्यात हुने कृषिजन्य वस्तुको पनि आवश्यक प्रमाणीकरण यही कार्यालयबाट हुने गरेको थियो ।
स्थानीय व्यापारीहरूको भनाइ अनुसार, क्वारेन्टाइन सेवा ठप्प हुँदा कृषि उत्पादनको आयात–निर्यात प्रक्रिया ढिलो हुने, थप खर्च बढ्ने र सामग्रीको बिग्रिने जोखिम बढेको बताइएको छ। सरकारले प्रणालीलाई व्यवस्थित बनाउँदै स्थानीय कार्यालयहरूलाई पनि डिजिटल प्रणालीसँग जोडेर पुनः सञ्चालनमा ल्याउन स्थानीयरूले माग गर्नुभएकाे छ ।








प्रतिक्रिया राख्नुहोस्