तपाईँ सुन्दै हुनुहुन्छः

स्तन जोगाएर क्यान्सरको शल्यक्रिया गर्ने प्रविधि शुरु

नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्तन जोगाएर क्यान्सरको शल्यक्रिया गर्ने प्रविधि सुरु गरिएको छ । पहिले स्तन क्यान्सर भएपछि स्तन काटेर शल्यक्रिया गर्ने गरिन्थ्यो । अहिले भने स्तन जोगाएर उपचार गर्ने आधुनिक प्रविधिको विकास भएको छ, जसलाई मेडिकल भाषामा ‘ब्रेस्ट कन्जर्भिङ सर्जरी’ भनिन्छ ।

राजधानी बाहिर यस्तो सर्जरी विरलै हुने गरे पनि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भने यो उपचार विधिको अभ्यास गरिरहेको अस्पतालका ब्रेस्ट अंको सर्जन डा। रुपेश रोशनले जानकारी दिनुभयो । डा। रोशनका अनुसार यस सर्जरीमार्फत क्यान्सरको उपचारसँगै महिलाको शरीरको प्राकृतिक सौन्दर्य जोगाउने प्रयास पनि भइरहेको छ । उहाँले भन्नुभयो–‘राजधानी बाहिर यस्तो शल्यक्रिया बिरलै हुने गर्छ, तर सुशील कोइराला क्यान्सर अस्पतालमा भने क्यान्सर भएको भागलाई हटाउने र स्तनको आकार पुनःस्थापना गर्ने दुवै काम एउटै प्रक्रियामा भइरहेको छ ।’

अस्पतालले हालसम्म २० जना स्तन क्यान्सरका बिरामीलाई ‘ब्रेस्ट कन्जर्भिङ सर्जरी’ सेवा प्रदान गरिसकेको छ । पछिल्लो पटक ७३ वर्षीया एक महिलाको सफलतापूर्वक अंको–प्लास्टिक ब्रेस्ट सर्जरी गरिएको डा. रोशनले जानकारी दिनुभयो । स्तन क्यान्सरको उपचारमा नयाँ प्रविधि र आधुनिक विधि भित्र्याएसँगै खजुरा क्यान्सर अस्पतालका विज्ञ चिकित्सकहरूले बिरामीलाई ठूलो राहत दिएका छन् । अब क्यान्सरको उपचारसँगै महिलाको आत्मविश्वास र शरीरको आकर्षक बनावट पनि जोगाउन सकिने भएको छ । डा. रुपेशका अनुसार सर्जरीपछि स्तनको आकार बिग्रिन नदिन बिरामीकै शरीरको मासु प्रयोग गरेर स्तनको बनावट पुनःस्थापना गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button