बाजुरा अस्पतालमा जीवनजल अभाव
बाजुरा। जिल्ला अस्पताल बाजुरामा विगत एक महिनादेखि जीवनजलको चरम अभाव भएको छ।

गत आर्थिक वर्षमा खरिद गरिएको जीवनजल सकिएपछि नयाँ खरिद प्रक्रिया ढिलाइ हुँदा अस्पतालमा जीवनजलको आपूर्ति रोकिन पुगेको हो ।
अस्पतालका सूचना अधिकारी नृपराज गिरीका अनुसार नयाँ आर्थिक वर्षको औषधि खरिद प्रक्रिया अघि बढिसकेको भए पनि जीवनजल आउन अझै एक महिना लाग्ने अनुमान गरिएको छ ।
जीवनजलको अभावले झाडापखाला र जल वियोजनका बिरामीले निजी अस्पताल वा बजारबाट किन्नुपर्ने बाध्यता भएको छ । “निःशुल्क औषधि अन्तर्गत पर्ने जीवनजल नभएपछि बिरामीले बजारबाट किन्नुपर्ने अवस्था आएको स्थानीयको गुनासो छ।
अस्पतालमा दैनिक १सय ८० देखि २सय बिरामी आउने गरेका छन् । तीमध्ये करिब १२ देखि १८ जनालाई जीवनजल आवश्यक पर्ने गरेको सूचना अधिकारी गिरीले जानकारी दिनुभयो ।
जीवनजल झाडापखाला तथा शरीरमा पानीको सन्तुलन बिग्रिएको अवस्थामा अत्यावश्यक औषधि मानिन्छ । स्थानीय खेमराज साउदका अनुसार जीवनजल नपाउँदा धेरै बिरामी समस्यामा परेका छन् ।
स्वास्थ्यकर्मीका अनुसार लामो समयदेखि अस्पतालमा जीवनजल अभाव हुँदा पनि सम्बन्धित निकायले ध्यान दिएको छैन । “बिरामीलाई जीवनजल चाहिन्छ, तर हामीसँग छैन भनेर बजारमा किन्न पठाउनु पर्ने अवस्था आएको छ,” एक स्वास्थ्यकर्मीले भन्नुभयो।
बाजुराका अन्य केही स्वास्थ्य संस्थामा समेत जीवनजलको अभाव रहेको पाइएको छ । स्थानीय तहले औषधि खरिदमा ढिलाइ गरेकाले यो समस्या उत्पन्न भएको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्