तपाईँ सुन्दै हुनुहुन्छः

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई प्रथम अर्घ दिँदै

जनकपुरधाम । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई प्रथम अर्घ दिने कार्यक्रम रहेको छ । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको पोखरी एवं तलाउहरूमा आज बिहान देखि नै प्रसाद सामाग्रीहरू राख्ने काम भएको हो ।

कतिपय ठाउँमा गएरातिको खरना विधि सम्पन्न भएपछि नै घाटमा प्रसादका सामाग्रीहरू राख्ने काम भएको छ भने अधिकांश घाटमा आज बिहान ५ बजे नै प्रसाद सामाग्रीहरू राख्ने काम भएको छ । छठ घाटहरूमा दिउँसो तीन बजेपछि भक्तजनहरूको भिड बढ्ने भएको छ ।

अत्यन्तै श्रद्धा भक्तिपूर्वक मनाइने छठ पर्व कार्तिक शुक्लपक्ष चतुर्थी तिथिबाट शुरु भएर हिजो पञ्चमी तिथिका दिन खरना विधि सम्पन्न भएको छ भने आज षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने कार्यक्रम रहेको छ ।

भोली सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि शरद ऋतुको यस वर्षको छठ पर्व समापन हुनेछ । भोली नै ब्रतिले ४२ घण्टाको कठोर उपवासपछि परना अर्थात् नुन सहितको खाना खाने चलन रहेको छ । निक्कै नियम निष्ठापूर्वक मनाइने छठ पर्व गर्नाले सन्तानको प्राप्ति, सन्तानको दीर्घ जीवन, परिवारको कल्याण तथा समृद्धि हाँसिल हुने जनविश्वास रहेको छ ।

गृष्मकालमा मनाइने छठ भन्दा निक्कै बढी भक्तजनहरूले कार्तिक महिनाको छठ मनाउने प्रचलन रहेको छ । छठ पर्वको शुरुवात द्वापर युगमा पाँच पाण्डवको अज्ञात बाँस सफल होओस् भन्नका लागि द्रौपदीले सूर्यको उपासना गर्नु भएको धार्मिक ग्रन्थ महाभारतमा उल्लेख रहेको छ ।

सत्ययुगमा सति अनसूयाले यो पर्व गर्नु भएको सूर्य पुराणमा उल्लेख रहेको छ । छठ पर्वमा मूलतः ठेकुवा, भुसवा प्रसादको रुपमा छठी मैयालाई अर्पण गर्ने चलन रहेको छ । यसका साथै फलफूलमा केला, नारिवल, ऊखु, स्याउ, सुन्तला सहितका फलफूलका साथै कृषि उत्पादनहरू अदुवा, बेसार, कागती, सुथनी, सिग्रार सहितका सामाग्रीहरू पनि अर्पण गर्ने चलन रहेको छ ।

भाकल गरे अनुसारको सङ्ख्यामा अर्घ तयार गर्ने चलन रहेको छ । खास गरेर प्रसादका सामाग्रीहरू, माटाको ढक्कन, कोशीया, कुरुवा, सर्वा, घैटामा राखिन्छ भने बासले बनेको छैटी, डगरी, टपरीमा प्रसादहरू राखेर ब्रतिले सूर्य तीर फर्केर एक एक गरेर सबै डालाका प्रसादहरू उचालेर सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

छठ पर्वमा धेरै सामाग्रीहरूको प्रयोग हुने भएकाले यसको तयारीमा व्रती तथा निजका परिवार कम्तीमा पनि एक महिना अगाडी देखि नै जुट्ने गरेका छन् । प्रकृतिको पूजा हुने भएकाले छठको सर्व स्वीकार्यता एक दशक यता निक्कै बढेर गएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button