वरिष्ठ कलाकार ‘निर्मोही’लाई उपचार सहयोग स्वरूप रकम हस्तान्तरण
बाँके । वरिष्ठ कलाकार कमल बी।के ‘निर्मोही’लाई मृगौला उपचारका लागि १ लाख ६ हजार २ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

‘तिहारका रङहरू’ शीर्षकमा बास नेपालले कार्तिक ४ गते नेपालगन्जमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सङ्कलन गरिएको उक्त रकम आज आइतबार निर्मोहीको निवासमै पुगेर हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा उपचार सहयोग समिति संयोजक नमस्कार शाहले कार्यक्रममार्फत सङ्कलित रकम र सहयोग अभियानका उद्देश्यबारे जानकारी गराएका थिए । सहयोग रकमको चेक नमस्कार शाह, समिति सदस्य तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठलगायतले निर्मोहीकी धर्मपत्नी हेरम देवी विकलाई हस्तान्तरण गरेका थिए ।
चेक ग्रहण गरेपछि हेरम देवी बिकले बास नेपालले आयोजना गरेको कार्यक्रम र प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै भनिन्, “यो सहयोगले हामीमा ठूलो आशा र साहस जगाएको छ । सबै सहयोगी र अभियन्ताहरूप्रति मनैदेखि धन्यवाद ।”
सोही अवसरमा बोल्दै कृष्ण प्रसाद श्रेष्ठले ‘निर्मोही’को शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थप सहयोगका लागि सम्पूर्ण कलाकार, व्यवसायी र समाजसेवीहरूलाई अभियानमा सहभागी हुन आह्वान गरे ।








प्रतिक्रिया राख्नुहोस्