तपाईँ सुन्दै हुनुहुन्छः

तिहारले आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित गर्नेछ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले तिहार पर्व २०८२ ले आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश दिनुहुँदै उहाँले तिहारले पारिवारिक जमघट, सामाजिक, सांस्कृतिक सद्भाव तथा राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभएको हो । 

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता, मौलिक चाडपर्व, प्राकृतिक सम्पदा र सभ्यताहरूले सम्पन्न राष्ट्र हो । नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै विविध जाति, धर्म र समुदायका ऐतिहासिक सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रुपमा पहिचान दिएको छ”, सभाध्यक्ष दाहालले उल्लेख गर्नुभएको छ,“यी विविधतायुक्त संस्कार, संस्कृति एवं चाडपर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभई जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण आधारहरू समेत हुन् ।” 

यमपञ्चकको रूपमा पाँच दिनसम्म मनाइने तिहारको  धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा विशिष्ट महत्व छ । कृषिमा निर्भर मानव समुदायसँग प्रकृति र पशुपन्छीको गहिरो सम्बन्धलाई तिहार पर्वले उजागर गरेको छ । यस पर्वमा काग, कुकुर, गाई, गोरुको पूजा गर्नु र दीपावली गरी धनकी देवी लक्ष्मीको आराधना गर्नुले मानव समुदायलाई जीवन निर्वाहका लागि प्रकृति र पशुपन्छीको महत्त्व कति रहेछ भन्ने देखाएको पनि दाहालको शुभकामना सन्देशमा उल्लेख छ । 

यस्तै, तिहारको अन्तिम अर्थात् पाँचौँ दिन मनाइने भाइटीकाले दाजुभाइ र दिदीबहिनीबिचको आत्मीयता, प्रेम र हार्दिकता प्रकट गर्नुका साथै टाढा रहेका दाजुभाइ दिदीबहिनीहरूको पुनर्मिलन गराउने र तिहारमा खेलिने देउसी भैलोलगायत सांस्कृतिक गतिविधिले उल्लासमय माहोल बनाउने उहाँको बुझाइ छ । सभाध्यक्ष दाहालले यसले नेपाली संस्कृति र पूर्वीय दर्शनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button