बारीबाटै फूल विक्री हुँदै, किसानहरूलाई भ्याइनभ्याई
धनकुटा । तिहारलाई फूलैफूलको चाड भनिन्छ । तिहारमा खेलिने देउसी भैलोमा पनि गोदावरी, मखमली र सयपत्री फूलको धेरै चर्चा हुने गरेको छ । यतिबेला धनकुटाका फूल खेती गर्ने किसानलाई फूल टिप्न र बेच्न भ्याइनभ्याई छ । तिहारमा बारीबाटै फूल बिक्री भएपछि किसान खुसी भएका छन् ।

गएका वर्ष भन्दा यो वर्ष तिहार छिटो भएकाले माथिल्लो क्षेत्रका किसानका बारीमा भने राम्रोसँग फूल फूल्न पाएको छैन । धनकुटा नगरपालिका–५ कर्मिटारका गोविन्द श्रेष्ठको बारीमा भने ढकमक्क फूल फूलेको छ । प्लास्टिकको मालालाई विस्थापित गर्ने उद्देश्यले विगत ६ वर्षदेखि फूल खेती गरिरहनुभएका श्रेष्ठलाई अहिले फूल टिप्न र बेच्न भ्याइनभ्याई छ । जिल्लाभित्र र जिल्ला बाहिरबाट माग भए जति फूल पुर्याउन उहाँले सकिरहनुभएको छैन । उहाँले धनकुटा बजारसहित धरान, विराटनगरसम्म फूल पठाइरहनुभएको छ । गएको वर्ष करिब ४५ हजारको फूल बेच्नुभएका श्रेष्ठले यो वर्ष भने ३ देखि ४ लाख रुपैयाँ सम्मको फूल बेच्ने लक्ष्य लिएको बताउनुभयो ।

तिहारमा घरको झ्याल ढोकामा लगाउने तथा भाइटिकाका लागि आवश्यक पर्ने मालाका लागि फूल बेच्न धनकुटाका किसान निकै व्यस्त छन् । पछिल्लो समय फूलको खेती विस्तार हुँदै गए पनि भारतीय फूल र कृत्रिम फूलले नेपाली किसानलाई समस्या दिने गरेको छ । धनकुटामा दुई सय १० किसानले २ दशमलव ७ हेक्टर क्षेत्रफलमा फुलको खेती गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । किसानले न्यूनतम ५० हजारदेखि १३ लाखसम्मको फूल उत्पादन गरि बिक्री गर्दै आएका छन् ।

यस वर्ष भने तिहार छिटो आएकोले कतिपय ठाउँमा फूल राम्रोसँग फूल्न नपाएको कृषि ज्ञान केन्द्र धनकुटाका सूचना अधिकारी रत्नबहादुर ठाडाले बताउनुभयो । उहाँका अनुसार धनकुटा नगरपालिकाको विभिन्न क्षेत्र तथा अन्य स्थानीय तहमा फूलको खेती हुने गरेको छ । कम लगानी तथा थोरै जग्गामा फूल खेत हुने भएकाले किसान फूल खेतीमा आकर्षित भएका छन् । तर, कम फूल फूलेका कारण फूलको अभाव हुने तथा तिहार पछि फूल फूल्दा खेर जाने अवस्था आउन सक्ने ज्ञान केन्द्रको भनाइ छ ।
धनकुटामा गत वर्ष ४१ लाखको फूल बिक्री भएको थियो । तर, यस वर्षको भने फूल उत्पादनको तथ्याङ्क आई नसकेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्