निरञ्जना भगवती मन्दिरमा पुनःनिर्मित जमराघर हस्तान्तरण
नुवाकोट । बेलकोटगढी नगरपालिका–१० स्थित धार्मिक तथा ऐतिहासिक महत्वको निरञ्जना भगवती मन्दिर परिसरमा निर्माण गरिएको “जमराघर” नेपाली सेनाले मन्दिर संरक्षण समितिलाई हस्तान्तरण गरेको छ ।
नेपाली सेना र बेलकोटगढी नगरपालिकाको सहकार्यमा पुनःनिर्माण गरिएको जमराघर बिहीबार आयोजित कार्यक्रममा नेपाली सेनाको श्री नं. ६ बाहिनी अड्डाका बाहिनीपति, सहायक रथी सुभास जंग थापाले मन्दिर संरक्षण समितिलाई हस्तान्तरण गर्नुभयो ।

उक्त जमराघर नेपाली सेनाले सञ्चालन गरेको ‘शीघ्र प्रभावी आयोजना’ अन्तर्गत पुनःनिर्माण गरिएको हो । कार्यक्रममा बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, उप–प्रमुख शिवप्रसाद दाहाल, श्री शेर गणका गणपति अशोक कुमार मल्ल लगायत जनप्रतिनिधि र स्थानीयबासीको सहभागिता थियो ।
परम्परादेखि नै दशैंको अवसरमा मन्दिर परिसरमा जमरा राख्ने प्रचलन रहँदै आएको छ । जीर्ण अवस्थामा रहेको पुरानो जमराघर पुनःनिर्माण गरेर मौलिक र पुरातात्विक स्वरूपमा संरक्षण गरिएको नेपाली सेनाले जनाएको छ ।
बाहिनीपति सहायक रथी थापाका अनुसार स्थानीय समुदायको मागअनुसार धार्मिक रीतिरिवाजको संरक्षणका लागि सेनाले यो कार्य सम्पन्न गरेको हो । श्री शेर गणका गणपति मल्लले पनि शीघ्र प्रभावी योजना अन्तर्गत स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी धार्मिक, सांस्कृतिक र सामाजिक पूर्वाधार विकासका काम भइरहेको बताउनुभयो ।
मन्दिरका पुजारी भोलाराज पौडेलका अनुसार नयाँ जमराघर बनेपछि दशैंको समयमा सामूहिक रूपमा जमरा राख्न सहज भएको छ ।








प्रतिक्रिया राख्नुहोस्