तपाईँ सुन्दै हुनुहुन्छः

पर्वत, बाँसखर्कको सुन्तला ‘जिआई’ मान्यतासँग जोडिँदै

पर्वत । पर्वतको बाँसखर्क भन्नेबित्तिकै धेरैको सम्झनामा आउने प्रमुख कृर्षि उत्पादन हो—सुन्तला । विशेष स्वाद, गुणस्तर र उत्पादनका कारण पहिचान बनाएको बाँसखर्कको सुन्तलालाई अब भौगोलिक सङ्केत (जिआई–भौगोलिक सङ्केत) मान्यता दिने प्रक्रिया अघि बढाइएको छ ।

बाँसखर्कको विशेष हावापानी, माटो र उत्पादनको विशिष्ट गुणका आधारमा यहाँ उत्पादन हुने सुन्तलालाई छुट्टै पहिचान दिलाउन जिआई मान्यता प्रदान गर्ने तयारी गरिएको हो । जिआई मान्यताले कुनै निश्चित भौगोलिक क्षेत्रमा उत्पादन हुने वस्तुको विशेष पहिचान र गुणस्तरलाई कानुनी तथा व्यावसायिक रूपमा स्थापित गर्ने गर्दछ ।

जिआईसम्बन्धी कार्यक्रम सोमबार पर्वत सदरमुकाम कुश्मामा सम्पन्न भएको छ । कार्यक्रममा संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाका सहसचिव इन्जिनियर जगन्नाथ तिवारीले जिआई मान्यताले कृषक र स्थानीय उत्पादनलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो ।

बाँसखर्कमा व्यावसायिक सुन्तलाखेती गर्ने किसानको संख्या बढ्दै गएको छ । यहाँका करिब २५० घरधुरी अन्नबालीको परम्परागत खेतीलाई कम गर्दै व्यावसायिक सुन्तलाखेतीमा आबद्ध भएका छन् । किसानले वार्षिक रूपमा न्यूनतम पाँच लाखदेखि ४० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

बाँसखर्कमा वार्षिक झण्डै १९ करोड रुपैयाँसम्मको सुन्तला उत्पादन हुने गरेको छ । गत वर्ष यहाँका किसानले करिब १७ करोड रुपैयाँको सुन्तला बिक्रीबाट आम्दानी गरेका थिए । यस वर्ष सुन्तला खेतीको क्षेत्रफल र उत्पादन दुवै बढेकाले २० करोड रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ ।

जिआई मान्यताले बाँसखर्कको सुन्तलालाई थप व्यवस्थित ब्रान्डिङ गर्न र बजारमा विशिष्ट पहिचान स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button