तपाईँ सुन्दै हुनुहुन्छः

मोहम्मद दिवसमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा

बाँके । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहिवसल्लमको जन्मजयन्ती ‘मोहम्मद डे’का अवसरमा बाँकेको जानकी गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वका रूपमा मनाइने मोहम्मद डेको अवसरमा गाउँपालिकाअन्तर्गतका कार्यालय तथा निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिदासम्बन्धी सूचना गाउँपालिका अध्यक्ष छब्बन खाँ र प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले संयुक्त रूपमा हस्ताक्षर गरी जारी गर्नुभएको छ ।

इस्लामिक पात्रोअनुसार रबिउल अव्वल महिनाको १२ तारिख हजरत मोहम्मद सल्लल्लाहु अलैहिवसल्लमको जन्मदिनका रूपमा मुस्लिम समुदायले श्रद्धा र उत्साहका साथ मनाउँदै आएका छन्। इस्लामिक मान्यताअनुसार उहाँको जन्म तत्कालीन अरबको मक्का क्षेत्रमा भएको मानिन्छ ।

हजरत मोहम्मदले आफ्नो जीवन समाज सुधार, मानव कल्याण, नैतिक आचरण तथा व्यावहारिक धार्मिक शिक्षाको प्रचारप्रसारमा समर्पित गर्नुभएको मुस्लिम धर्मावलम्बीहरूको विश्वास छ । उहाँले समाजमा विद्यमान विभेद, अन्धविश्वास, कुरीति तथा विकृतिविरुद्ध आवाज उठाउँदै मानवता, समानता, भ्रातृत्व, सदाचार र सामाजिक न्यायको सन्देश प्रवाह गर्नुभएको थियो ।

मोहम्मद डेको अवसरमा नेपालसहित विश्वका विभिन्न मुलुकमा मुस्लिम समुदायले धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी पैगम्बर मोहम्मदको जीवन, शिक्षा र योगदानको स्मरण गर्ने गरेका छन् ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले मोहम्मद डे मुस्लिम समुदायका लागि मात्र नभई समाजमा आपसी सद्भाव, सहिष्णुता, भाइचारा र मानवताको सन्देश प्रवाह गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सम्मान र सद्भाव कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले गाउँपालिकाले स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक भावनाको सम्मान गर्दै मोहम्मद डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो । 

जानकी गाउँपालिका मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको क्षेत्र भएकाले मोहम्मद डे यहाँ विशेष धार्मिक तथा सामाजिक महत्वका साथ मनाइँदै आएको छ । गाउँपालिकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र विविधताबीचको एकतालाई स्थानीय तहको प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button