संसद् विघटन असंवैधानिक भएको सर्वदलीय बैठकको निष्कर्ष
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा आज भएको सर्वदलीय बैठकले संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।
बैठकमा सभामुख घिमिरेले संसद्को पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा दलहरूसँग धारणा माग्नु भएको थियो ।
बैठकमा सभामुख घिमिरेले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि आफूले पहल गर्ने र त्यसमा दलहरूको साथ आवश्यक धारणा राख्नुभएको छ ।
बैठकपछि नेकपा एमालेका नेता महेश बर्तौलाले संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको र संसद्लाई जीवित राखेर समस्या समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै संसद् विघटन गरिएको निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभयो ।
उहाँले प्रतिनिधि सभा विघटनबारे सर्वोच्चमा रिट परिसकेको र सबै दलहरूको धारणा पनि पुनर्स्थापन पक्षमा रहेकाले त्यसैको आधारमा अघि बढ्ने बताउनुभयो ।
नेपाली कांग्रेसका नेता श्याम घिमिरेले संसद् विघटन असंवैधानिक रहेकाले संवैधानिक प्रक्रियाबाट निकास खोज्नुपर्ने र पुनर्स्थापना वा चुनाबाट निकास निकाल्ने बाटो भएपनि चुनावको वातावरण बन्न नसकेको बताउनुभयो ।
सरकारले चुनावको वातावरण बनाउन नसकेको तर चुनावको वातावरण बनेमा चुनावमा जान दलहरूलाई आपत्ति नरहेको उहाँले बताउनुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डेले संसद् विघटन र अन्तरिम सरकार गठन इतिहासको दुर्लभ घटना भएको भन्दै दलहरूले कमी कमजोरी सच्याएर अगाडि बढ्नुपर्ने र चुनावको वातावरण बन्नुपर्ने धारणा राख्नु भएको थियो ।
नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकार गठन गर्ने संविधानको प्रावधान विपरीत वर्तमान सरकारको गठन भएको र अहिलेकै अवस्थामा निर्वाचनमा जानसक्ने वातावरण नरहेको बताउनुभयो ।
प्रतिनिधिसभाको पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा सभामुखले आज बैठक बोलाउनु भएपनि प्रतिनिधि सभा विघटन विरुद्धमा रिट लिएर सर्वोच्च अदालत जाने विषयमा सभामुख घिमिरेलाई राजनीतिक दलहरूले कुनै सुझाव दिएका छैनन् ।
अदालतमा सरकार गठन र प्रतिनिधि सभा विघटन विरुद्धमा सर्वोच्च अदालतमा रिट परेकाले अदालतले गरेको निर्णय अनुसार अगाडि बढ्नुपर्ने दलहरूले बताएका छन् ।
बैठकमा राप्रपाका नेता ज्ञानबहादुर शाही र जनता समाजवादी पार्टी नेपालका नेता रेखा यादव सहभागी हुनुहुन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टी भने बैठकमा सहभागी भएको थिएन ।
प्रतिक्रिया राख्नुहोस्