जसपा नेपालको मधेश प्रदेश अधिवेशन भोलिदेखि
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको पहिलो एकताको अधिवेशन जनकपुरधाममा भोली देखि शुरु हुन लागेको छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आज जनकपुरधाममा साे पार्टीले आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृतिक भवनमा दिउँसोबाट हुन लागेको एकता अधिवेशनमा ५ सय प्रतिनिधि र १ सय पर्यवेक्षक गरेर ६ सय जना विभिन्न जिल्लाहरूबाट सहभागी हुने सो पार्टीका प्रदेश अध्यक्ष बालकृष्ण प्रसाद यादवले जानकारी दिनुभयो ।
पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नुहुने प्रदेश अधिवेशन असोज २७ र २८ गते सम्म सञ्चालन हुने अधिवेशनमा समसामयिक राजनीतिक अवस्था, जेन्जी पुस्ताले उठाएका माग सहितका विभिन्न विषयहरूमा छलफल हुने प्रदेश अध्यक्ष बालकृष्ण प्रसादले जानकारी दिनु भयो ।

यसका साथै अध्यक्ष पदाधिकारी सहितका ५१ सदस्यीय नयाँ प्रदेश समितिको गठन गरेर प्रदेश अधिवेशन सम्पन्न हुने भएको छ । प्रदेश अधिवेशन समापनमा जनकपुरधाम घोषणापत्र जारी गरिने प्रदेश अध्यक्ष वालकृष्ण यादवले जानकारी दिनुभयो ।
मधेश प्रदेशमा बलियो पकड भएको जनता समाजवादी पार्टी नेपालको अधिवेशन प्रतिनिधिहरू, वडा स्तरबाट छनौट भएर आउन लागेका छन् । ५० जना पार्टी सदस्यमा एक जना प्रदेश प्रतिनिधि छनौट हुने पार्टीको विधान रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा गरिएको जिज्ञासामा प्रदेश अध्यक्ष यादवले आफू साथीहरूको भावना अनुसार फेरि पनि अध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्