तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाबाट इलाममा जनजीवन प्रभावित, मेची राजमार्ग पूर्ण रूपमा बन्द

इलाम । अविरल वर्षापछि इलामको राजदुवाली माथिको सडकमा गएको पहिरोले इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मुख्य राजमार्ग–मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

वर्षौँदेखि जमिन भित्र–भित्रै बग्ने समस्या रहँदै आएको इलाम सदरमुकाम तर्फको यो भाग गत वर्षको वर्षामा पनि पहिरो गएर जोखिमपूर्ण बनेको थियो। गएराति पुनः पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार झापादेखि फिक्कलसम्मको भागमा ठूलो समस्या नभए पनि गोदक–माईखोला सडकखण्डमा धेरै स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। यस्तै इलाम चुरेघाँटी र नेपालटार तर्फको सडक पनि पहिरोका कारण बन्द भएको छ। पाँचथर सिमानासम्म भने अन्यत्र ठूलो क्षति नभएको उहाँले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार मुख्य समस्या माईखोला माथिको खण्डमा हो, सडक खुलाउन कम्तीमा तीन–चार दिन लाग्न सक्छ। 

उता, इलाम–झापा जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्घा सडकमा पर्ने पुवा खोलामा बाढीले केही महिना अघि मात्र निर्माण सम्पन्न गरिएको बेलीब्रिज बगाएको छ।

त्यसैगरी माई खोलाको बेलासे पुल पनि क्षतिग्रस्त बनेको छ, जसका कारण सवारी सञ्चालन असम्भव भएको बताइएको छ। वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमल गोलाइ–तिल्केनी सडकको जोगमाई खोलामा बनेको बेलीब्रिज पनि बाढीले बगाएको छ।

यी तीनै सडक अवरुद्ध भएपछि झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फका सबै सवारी साधन पूर्ण रूपमा ठप्प भएका छन्। यो राजमार्गमा दैनिक करिब तीन सयभन्दा बढी सवारी साधन सञ्चालन हुने गरेको जनाइएको छ।

यसैबीच, वर्षाको कारण देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिका बीचको देउमाई खोलामा बनेको पक्की पुलको आधा भाग बाढीले बगाएको छ। त्यस्तै, गजुरमुखी धाम नजिकैका छ घर बाढीले बगाएको स्थानीयहरूले बताएका छन्।

इलामका विभिन्न क्षेत्रमा लगातार पहिरो र बाढीका कारण सडक, पुल, घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ भने उद्धार तथा राहत कार्यमा सडक अवरुद्ध र खराब मौसमले थप चुनौती सिर्जना गरेको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button