तपाईँ सुन्दै हुनुहुन्छः

मौसम अनुकूल भएसँगै सुकेटार विमानस्थलमा उडान सुरु

ताप्लेजुङ। करिब दुई महिना रोकिएको ताप्लेजुङको सुकेटार विमानस्थलमा आजदेखि हवाई उडान पुनः सुरु भएको छ । दशैंका यात्रुहरूलाई यसले ठूलो राहत पुगेको छ ।

निरन्तर वर्षा, हुस्सु र कुहिरोका कारण दृश्यता नपुग्दा पटक–पटक तालिका प्रकाशन भए पनि उडान स्थगित हुँदै आएको थियो । नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार आज काठमाडौँबाट १४ जना यात्रु आए भने ताप्लेजुङबाट ९ जना काठमाडौँ प्रस्थान गरेका छन् ।

नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ मार्गमा हप्तामा एकपटक उडान गर्ने तालिका सार्वजनिक गरेको छ । साउन ५ गतेदेखि विमानस्थलमा उडान बन्द भएको थियो ।

उडान पुनः सुरु भएपछि यात्रुहरू खुशी देखिएका छन् । नियमित उडान नहुँदा बिरामी, महिला, बालबालिका र अशक्तहरूलाई समस्या पर्ने गरेको थियो । पाथीभरा मन्दिरका तीर्थयात्री र कञ्चनजङ्घा क्षेत्र अवलोकन गर्न आउने पर्यटकहरूलाई पनि असुविधा हुने गरेको व्यवसायीहरूले बताएका छन् ।

ताप्लेजुङ–काठमाडौँ हवाई भाडा हाल ९,२४५ रुपैयाँ तोकिएको स्टेसन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button