नरैनापुरमा धार्मिक पर्यटन विकासमा जोड, गोवर्धनधामसहितका स्थल प्रवर्द्धन गर्ने योजना
बाँके । भौतिक पूर्वाधार र सञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको बाँकेको नरैनापुर गाउँपालिकाले धार्मिक पर्यटनलाई आर्थिक समृद्धिको नयाँ आधार बनाउने रणनीति अघि सारेको छ ।
गाउँपालिकाभित्र रहेका ऐतिहासिक तथा धार्मिक महत्वका स्थलहरूको संरक्षण, प्रवर्द्धन र पूर्वाधार विकासमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ ।
रेडियो नेपालसँग कुराकानी गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गोवर्धनधाम, बाबा बर्फानी, सन्तानेश्वर र शैयद नूर खलिफालाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले धार्मिक पर्यटन विकासका लागि सबैभन्दा पहिले पहुँच मार्ग सुधार आवश्यक रहेको उल्लेख गर्दै लेक क्षेत्रसम्म पुग्ने सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभयो । “धार्मिक स्थलसम्म पुग्न अहिले पनि कठिनाइ छ । सडक बनेपछि पर्यटक आवागमन सहज हुने र आर्थिक गतिविधि बढ्नेछ,” उहाँले भन्नुभयो ।
नरैनापुर–४ खोदवाबाट जङ्गल, खोलानाला र डाँडाकाँडा पार गर्दै पुगिने गोवर्धनधाम धार्मिक आस्थाको प्रमुख केन्द्रका रूपमा परिचित छ । उक्त क्षेत्रमा आश्रम सञ्चालनसँगै तीन सयभन्दा बढी गाईहरूको संरक्षण पनि भइरहेको छ ।
पर्यटन प्रवर्द्धन अभियानमा निजी क्षेत्रको समेत सहभागिता देखिएको छ । वैकुण्ठधाम सञ्चालक समितिका श्रीराम सिग्देलले नरैनापुरलाई सीमापारिबाट आउने भारतीय धार्मिक पर्यटकका लागि पनि आकर्षक गन्तव्य बनाउन सकिने बताउनुभयो ।
गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रका अनुसार गोवर्धनधाममा हालसम्म पाँच सयभन्दा बढी दर्शनार्थीले अवलोकन गरिसकेका छन् ।
पछिल्ला वर्षहरूमा नरैनापुरमा पक्की सडक, विद्युत्, इन्टरनेट र स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ । यी आधारभूत पूर्वाधारसँगै धार्मिक पर्यटन विकासले गाउँपालिकाको आर्थिक र सामाजिक रूपान्तरणमा योगदान दिने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्