तपाईँ सुन्दै हुनुहुन्छः

संविधानको रक्षा र थप उपलब्धि आवश्यक 

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले वर्तमान संविधानका उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धि हाँसिल गर्न संविधानको संशोधन आवश्यक रहेको बताउनु भएको छ ।

प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा आज जनकपुरधामको मधेश भवनमा आयोजना गरिइएको संविधान दिवस २०८२ को विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भण्डारीले युवा विद्यार्थी पङ्क्तिले उठाएको मागहरूको संवोधन गर्दै आन्दोलनको क्रममा ध्वस्त भएको महत्वपूर्ण संरचनाहरूको पुनः निर्माण गर्दै मुलुकलाई समृद्धि र विकासको गतिमा अगाडी बढाउन जरुरी रहेको बताउनु भयो ।

प्रदेश प्रमुख भण्डारीले आन्दोलनको क्रममा राष्ट्रिय सम्पदाहरू माथि  भएको तोडफोड तथा आगजनी मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताउँदै आन्दोलनको क्रममा भएको घुसपैठको छानविन जरुरी रहेको बताउनु भयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वर्तमान संविधानमा रहेको संघीय शासन प्रणालीका कारणले गाउँ गाउँमा विकासको लहर आएको बताउँदै यसमा भएको कमी कमजोरीलाई सुधार गरेर अगाडी बढ्नुको विकल्प नभएको बताउनु भयो । उहाँले आफूले सङ्घीयता तथा संविधानको रक्षाका लागि नै मुख्यमन्त्री पदबाट राजीनामा नगरेको बताउँदै आफ्नो निर्णय प्रति सबैको समर्थन प्राप्त हुँदै जाने बताउँदै आफूले प्रदेश सभाबाट विश्वासको मत लिने बताउनु भयो ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले निक्कै रामो सङ्घर्ष र बलिदानबाट संविधान सभाबाट बनेको वर्तमान संविधानको मूल मर्मको रक्षा गर्दै थप उपलब्धिका लागि अगाडी बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले राष्ट्रिय सम्पदा तथा धरोहरहरूमा तोडफोड तथा आगजनी हुनु ठूलो सुरक्षा चुक भएको बताउँदै राज्यले ठूलो लगानी गरेको सुरक्षा निकायले ती सम्पदाहरू बचाउन नसक्नुको विषयमा आम जनताले प्रश्न गर्न थालेको बताउनु भयो ।

यस पटक विना जुलुस तथा प्रदर्शन मधेश भवनमा प्रदेश सरकारले संविधान दिवस मनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button