तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रूपमा नेपाल भित्र्याइएको ४ हजार बोइलर कुखुराको चल्ला बरामद 

वीरगञ्ज । सशस्त्र प्रहरीले द्वारा पर्साको केहुनिया स्थित नेपाल–भारत सीमा क्षेत्रबाट आज  बिहान अवैध रूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको बोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ  ।

सशस्त्र प्रहरीका अनुसार, करिब ४ हजार वटा बोइलर कुखुराको चल्लासहितको मोटरसाइकल छाडेर तस्कर फरार भएका हुन् । वीरगन्ज महानगरपालिका–१९, केहुनियामा खटिएको सशस्त्र प्रहरीको नम्बर १३ गणको टोलीले भारतबाट आउँदै गरेको ना ४ १ प ४२२ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याइएका चल्ला फेला पारेको थियो । सुरक्षाकर्मीलाई देख्नेबित्तिकै मोटरसाइकल चालक फरार भएपछि प्रहरीले मोटरसाइकल र चल्ला नियन्त्रणमा लिएको थियो ।

बरामद गरिएका चल्लाहरूको अनुमानित मूल्य  १ लाख रुपैयाँ रहेको बताइएको छ । सुरक्षाकर्मीले ती चल्लालाई स्थानीय पत्रकार, जनप्रतिनिधि, नेपाल प्रहरी र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको रोहबरमा खाडल खनेर नष्ट गरेका छन् ।

यस घटनापछि सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था थप कडा पारिएको नम्बर १३ गणले जानकारी दिएको छ । बरामद गरिएको मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button