तपाईँ सुन्दै हुनुहुन्छः

खेल क्षेत्रको समृद्धिका लागि सबै पक्ष एकताबद्ध भएर अगाडि बढ्नुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले खेल क्षेत्रको समृद्धिका लागि सबै पक्ष एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा बताउनुभएको छ । 

अखिल नेपाल खेलकुद महासङ्घको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले खेलकुद क्षेत्रको समग्र विकासका लागि माओवादी केन्द्र र त्यस अनुगामी सङ्गठन अखिल नेपाल खेलकुद महासङ्घले आक्रामक ढङ्गले हस्तक्षेप गर्न आवश्यक रहेको बताउनुभयो।

उहाँले खेल क्षेत्रको रूपान्तरण पार्टीको प्रभावकारी हस्तक्षेप बिना सम्भव नरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ”अखिल नेपाल खेलकुद महासङ्घको हस्तक्षेप बिना, हाम्रो एकता र गति बिना यो क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव छैन।”

विगतमा माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय तथा परिषद् रहेका बेला खेल क्षेत्रमा गुणात्मक सुधार देखिएको उदाहरण प्रस्तुत गर्दै उहाँले हालको सरकार खेलकुद विकासप्रति उदासीन रहेको बताउनुभयो। 

अध्यक्ष प्रचण्डले खेलकुद क्षेत्रमा लगानी, जीवनको ग्यारेन्टी, र पेसागत वातावरण तयार गरिएमा यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउन सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ”राज्यले ध्यान दिने हो भने नेपाली युवाले विश्व रेकर्ड बनाउन सक्छन्।”

सम्मेलनमा अध्यक्ष प्रचण्डले अखिल नेपाल खेलकुद महासङ्घलाई जनताको खेल र रूपान्तरणको अभियानको रूपमा अगाडि बढाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले महासङ्घलाई उत्कृष्ट खेलाडीहरूको सङ्गठनका रूपमा स्थापित भएकोमा बधाई समेत दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button