तपाईँ सुन्दै हुनुहुन्छः

तीन तहका सरकार बीचको समन्वयबाट समृद्धि सम्भव : मन्त्री पौडेल

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तीन तहको सरकारको समन्वयबाट समृद्धि सम्भव रहेको बताउनुभएको छ । तनहुँको भिमाद नगरपालिकामा आज आयोजित स्वागत एवं भेटघाट कार्यक्रममा उहाँले सङ्घीय, प्रदेश र स्थानीय तहबाट समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । 

मुलुकको समृद्धिका लागि सहमति र सहकार्य आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले स्थानीय तह नजिकको सरकार भएकाले जनताले सहज र सरल तरिकाबाट सेवा प्राप्ति गर्नुपर्ने बताउनुभयो । स्थानीय तहलाई बलियो बनाउँदै सङ्घीयता सुदृढ गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको मन्त्री पौडेलको भनाइ थियो । 

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले जनताको भावनाअनुसार तिनै तहको सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री पौडेलले आजै शुक्लागण्डकी नगरपालिका–८ ले आयोजना गरेको तीज गीत प्रतियोगिताको उद्घाटन गर्नुभयो । त्यस्तै, भिमाद एफएमले आयोजना गरेको तीज गीत प्रतियोगिता र घिरिङ गाउँपालिका–१ बैडीमा पुष्पाञ्जली समाज सुधार मञ्चले आयोजना गरेको वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र तीज गीत प्रतियोगिताको मन्त्री पौडेलले उद्घाटन गर्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button