प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडानलाई एजेण्डा बनाउन माग

नेपालगञ्ज । नेपालगञ्ज–दिल्ली हवाई उडानलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा एजेण्डा बनाउन बाँकेवासीले माग गरेका छन् । राजनीतिक दल, सांसद, स्थानीय सरकार, समाजसेवी, बुद्धिजीवी, नागरिक समाजका अगुवाले प्रधानमन्त्रीको भदौ ३१ गते हुने भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडानलाई राज्यको एजेण्डा बनाउन माग गरेका हुन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा दबाब समिति बनाएर जिल्लावासीलाई एकजुट गराई प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ । आज नेपालगञ्जमा आयोजना गरिएको बृहत् छलफलमा एक मतका साथ यो एजेण्डालाई राज्यको एजेण्डा बनाउन दबाब सिर्जना गर्ने निष्कर्ष निकालिएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क बहादुर धामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपस्थित भएका प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू र सम्बद्ध सरोकारवालाहरूले नेपालगञ्जबाट दिल्ली उडान भर्न रुट इजाजतका लागि एक ढिक्का भएर दबाब दिनुपर्ने बताएका छन् । उनीहरूले त्यसका लागि आ(आफ्नो तर्फबाट पूर्ण साथको प्रतिबद्धता समेत जनाएका छन् । प्रमुख अतिथि संविधानसभा सदस्य एवम् प्रदेशसभा सदस्य बादशाह कुर्मीले नेपालगञ्ज–दिल्ली उडानले यहाँको आर्थिक तथा पर्यटकीय क्षेत्रमा ठुलो प्रभाव पार्ने भएकाले सरकारलाई दबाब दिइनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा यो मुद्दालाई समावेश गर्न सहयोगको प्रतिबद्धता जनाउनुभयो । यसका लागि निरन्तर सङ्घर्ष गरेरै अघि बढ्नुपर्ने उहाँको मत छ ।
कार्यक्रममा मधेशी आयोगका सदस्य विजय गुप्ता, प्रदेशसभा सदस्य अम्बिका काफ्ले, नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा ९एमाले० बाँकेका सचिव बलराम भट्टराई, माओवादीका प्रतिनिधि प्रेम शाह, रास्वपाका अध्यक्ष हरिपाल सिंह केसी, नेकपा एस बाँकेका अध्यक्ष दीपक जिएम, राप्रपा अध्यक्ष नरेन्द्र पौडेल, जसपाका नेता अख्तर हुसेन फारुकी, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्जका कार्यबहाक मेयर कमरुद्दिन राई, कोहलपुरकी कार्यबहाक मेयर सङ्गीता सुवेदी, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, खजुरा उपाध्यक्ष मञ्जु मल्ल, नेपालगञ्जका पूर्व मेयर विजय गुप्ता, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले नेपालगञ्ज(दिल्ली उडान आवश्यक रहेको बताउँदै यो अभियानमा सँगसँगै रहेको प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यहरू दुर्गा प्रसाद चौधरी, भण्डारीलाल अहिर, मिना श्रेष्ठ लगायतको पनि उपस्थिति थियो ।
यसैगरी नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नन्दलाल वैश्य, वरिष्ठ व्यवसायी सञ्जय थापा, आनन्द प्रकाश मल्होत्रा, विनोद अग्रहरी लगायतले पनि माग पूरा नहुँदासम्म अभियानलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिँदै चुनौतीहरूको पनि लेखाजोखा गर्दै रणनीतिक हिसाबले पनि अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपालगञ्ज विमानस्थल प्रमुख सुम्मत प्रसाद चौधरीले अहिलेको विमानस्थलको संरचना दिल्ली उडानका लागि पर्याप्त रहेको भन्दै अनुमति पाए अहिले उडिरहेकै क्षमताका जहाज सजिलै उडाउन सकिने बताउनुभयो । निर्माणाधीन अत्याधुनिक नयाँ टर्मिनल भवन पनि त्यसै किसिमले बनेकोले भौतिक पूर्वाधार र संरचनाको समस्या नरहेको बताउनुभयो । भदौभित्रै नयाँ टर्मिनल भवन सञ्चालनमा ल्याउने तयारी छ ।
नेपालगञ्ज–दिल्ली उडानको दबाब बढाउन गत जेठ २३ गते भएको सर्वपक्षीय सरोकारवालाको भेलाले अध्यक्ष धामीको संयोजकत्वमा ‘नेपालगञ्ज–दिल्ली उडान दबाब समूह’ गठन गरेको थियो । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीम बहादुर रानाभाटले सोही समूहको अगुवाइमा अहिले दबाब बढाउने कार्यलाई अगाडि बढाइएको बताउनुभयो । दबाब समूहका अनुसार प्रधानमन्त्रीलाई भेटेर हस्तान्तरण गर्ने प्रतिवेदन तयार गर्न नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष गिरीको संयोजकत्वमा अध्ययन प्रतिवेदन निर्माण समिति पनि गठन गरिएको छ । यो समितिले १७ गतेभित्र नेपालगञ्ज–दिल्ली उडानको आवश्यकता, औचित्य र महत्वबारे प्रतिवेदन तयार पार्ने संयोजक गिरीले बताउनुभयो । जुन प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिनेछ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले प्रधानमन्त्रीको आसन्न भ्रमणमा यो एजेन्डालाई समावेश गराउन राज्यलाई दबाब दिनका लागि नेपालगञ्जबाट एक टोली काठमाडौँ जाने बताउनुभयो । उहाँका अनुसार टोलीले काठमाडौँमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साँसदहरुसँग छलफल गर्नुका साथै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
नेपालगञ्ज(दिल्ली उडान सुरु भएमा विशेष गरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्नेछ । ठुलो सङ्ख्याका भारतीय बर्सेनी मानसरोवर यात्रामा जाने गर्दछन् । नेपालगञ्ज-दिल्ली हवाई उडान भएमा ती तीर्थालु नेपालगञ्ज आएर जान्छन् र यहाँको विकासमा टेवा पुग्ने देखिएको छ । भारतको राजधानीसँग सिधा हवाई सम्पर्क हुँदा यसले बहुआयामिक लाभ पुग्ने विश्वास छ ।
प्रतिक्रिया राख्नुहोस्