तपाईँ सुन्दै हुनुहुन्छः

मधेसमा सिँचाइका लागि स्यालो ट्युबवेल जडान गर्ने प्रक्रिया सुरु

वीरगंज । खडेरीले मारमा परेका मधेस प्रदेशका किसानलाई राहत पुर्‍याउने उद्देश्यले सिचाइँका लागि स्यालो ट्युबवेल जडान गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।  

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको अग्रसरतामा मधेस प्रदेशका सबै जिल्लामा किसानको खेतमा स्यालो ट्युबवेल जडान गरिने भएको छ । लामो समयदेखि वर्षा नहुँदा प्रदेशभर सिँचाइ सङ्कट उत्पन्न भएको छ । अधिकांश क्षेत्रमा धान रोपाइँ हुन सकेको छैन भने रोपिएको धान समेत खडेरीका कारण सुक्न थालेको छ ।

अहिले पर्सा, बारा, रौतहट लगायत आठ वटै जिल्लाका कृषि ज्ञान केन्द्रहरूले सूचना प्रकाशित गरी किसानहरूलाई स्यालो ट्युबवेल जडानका लागि आवेदन दिन आह्वान गरेका छन् ।

कृषि मन्त्री क्षेत्रीले हाल किसानबाट धमाधम आवेदन आइरहेको छ भन्नुहुँदै छिट्टै सबै प्रक्रिया पूरा गरेर एक सातामै  ट्युबवेल जडानको काम सुरु गरिने बताउनुभयो । 

प्रदेश सरकारले यसकालागि चालु आर्थिक वर्षमा ६ करोड ५५ लाख रुपैयाँ स्यालो ट्युबवेल जडानका लागि विनियोजन गरेको जानकारी दिनुभयो । त्यसैगरी बाली प्रवर्धन शीर्षक अन्तर्गतको ११ करोड रुपैयाँ समेत समेटेर जम्मा १७ करोड ५५ लाख रुपैयाँ स्यालो ट्युबवेलमा खर्च गरिने निर्णय भएको उहाँले बताउनुभयो । 

कृषि मन्त्री क्षेत्रीले भन्नुभयो “सङ्कटकालीन अवस्थामा मन्त्रालयको नियमित बजेटबाट नै यो अभियान सुरु गरेका छौँ । प्रदेश सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेकाले थप राहतको लागि मुख्यमन्त्रीसँग छलफल गरी थप बजेट माग गर्ने तयारी पनि छ।”

यसैगरी मन्त्री क्षेत्रीका अनुसार अघिल्लो आर्थिक वर्षमा मन्त्रालयले २ हजारभन्दा बढी किसानलाई स्यालो ट्युबवेल वितरण गरिसकेको छ । यस वर्षको अवस्था झनै गम्भीर बनेकाले थप व्यवस्थित र तीव्र गतिमा कार्यक्रम अघि बढाइएको हो ।

यो अभियानले खडेरीबाट प्रत्यक्ष प्रभावित मधेसका किसानलाई राहत प्रदान गर्ने र धान उत्पादनमा पर्ने असर न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button