तपाईँ सुन्दै हुनुहुन्छः

ट्र्याक खोलेको दुई दशकपछि बल्ल कालोपत्रे हुँदै धम्पुस–खानीगाउँ सडक

कास्की । कास्कीको माछापुच्छ्रे« गाउँपालिका–७ घट्टेखोला–धम्पुस–खानीगाउँ सडक ट्र्याक खोलेको २१ वर्षपछि बल्ल कालोपत्रे हुने भएको छ । 

नेपाल सरकार र एसियाली विकास बैङ्कको सहयोगमा निर्माण हुन लागेको सडकको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले  शिलान्यास गर्नु भएको छ ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाबाट कार्यान्वयन भइरहेको उक्त सडक २ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भएको थियो । सडक निर्माणका लागि एमएस इकेके–एमसिएसपीएल–बिबिआर जेभिले ३० करोड १८ लाखमा सम्झौता गरेको छ ।

सडकको शिलान्यास गर्दै मन्त्री केसीले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवसायीलाई सचेत गराउनु भयो । सडक निर्माण कार्य पर्यटकीय क्षेत्रसँग जोडिएको हुनाले यो परियोजना स्थानीय अर्थतन्त्र, रोजगारी, तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने मन्त्री केसीको विश्वास छ ।

‘समयमै गुणस्तरीय रूपमा कार्य सम्पन्न गर्न, काम निरन्तर अघि बढाउन, निर्माणस्थलको नियमित अनुगमन गरी समयमै आयोजना सम्पन्न गर्ने वातावरण तयार गर्न, हाम्रो कार्यालय, निर्माण व्यवसायी र स्थानीय तहलाई विशेष आग्रह गर्दछु,’ उहाँले भन्नु भयो । यो आयोजनाले माछापुच्छ्रे« गाउँपालिका आसपासका क्षेत्रमा यातायात सेवा विस्तार गरी सामाजिक, आर्थिक, पर्यटकीय, स्वास्थ्य र शैक्षिक क्षेत्रमा बहुआयामिक भूमिका खेल्ने मन्त्री केसीले उल्लेख  गर्नु भयो ।

सडकको लम्बाई १३ दशमलव ३ किलोमिटर रहनेछ । पहिलो ७ किलोमिटरसम्म अस्फाल्ट पिच र बाँकी सडकमा डिबिएसटी प्रविधिबाट पिच गरिने ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।  ।

शिलान्यास कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, माछापुच्छ्रे« गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ, उपाध्यक्ष सिता अधिकारी, भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारी, पूर्वाधार विकास निर्देशनालयका महानिर्देशक दिनेशकुमार घिमिरेसहितका स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो । सडकको ट्र्याक विसं २०६१ मा खुलिसकेको भए पनि हाल आएर मात्रै पहिलो पटक सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button