आत्महत्याको घटना न्यूनीकरणका लागी डडेलधुरामा सरोकारवाला पक्ष सक्रिय
डडेल्धुरा । डडेलधुरामा आत्महत्या गर्नेको सङ्ख्या वृद्धि हुन लागेपछि यसको रोकथाममा सरोकारवाला पक्षहरू सक्रिय रूपमा लागेका छन् ।
एक वर्षको अवधिमा मात्रै डडेलधुरामा आत्महत्या गरेर मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय डडेलधुराले दिएको छ । मृत्यु हुनेमा १८ जना पुरुष र १७ जना महिला छन् । यो तथ्याङ्क हेर्दा आत्महत्याको वृद्धिदरले डर लाग्दो अवस्थामा पुगेको छ ।

आत्महत्याका घटनाहरू मध्ये चार जनामा आत्महत्या दुरुत्साहनको मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी प्रमुख (डिएसपी) सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रवार महेन्द्र माध्यमिक विद्यालय खंलगा डडेलधुरामा अध्ययनरत बालबालिका र अभिभावकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक श्रेष्ठले उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।
लागू औषध, आत्महत्या र साइबर क्राइमका विषयमा जानकारी दिनुहुँदै प्र.ना.उ श्रेष्ठले सरोकारवाला पक्षहरू जागरूक बन्नुपर्ने र न्युकिरणका लागी पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो । यसलाई रोकथाम गर्न जिल्ला प्रहरी कार्यालय डडेलधुराले निरन्तर सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गाउँ गाउँसम्म अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । पछिल्लो समयमा नेपालमा बढ्दै गइरहेको लागू औसत आत्महत्या तथा साइबर अपराध सम्बन्धी भिडियो सामग्री प्रस्तुत गर्दै विद्यार्थी तथा अभिभावक हरूसँग अन्तकृया गर्दै सहजीकरण गर्नुभएको थियो ।
डडेल्धुरा अस्पताल डडेलधुराका निमित्त नर्सिङ प्रमुख टिका राउतले बालबालिकाको अगाडि अभिभावकले गर्ने व्यवहार त्यसको प्रभावका विषयमा जानकारी दिनुभयो । साथी सङ्गतबाट बालबालिकाहरू कसरी बिग्रिन सक्छन् स्वयं बालबालिकाहरूले नै ती साथीहरू र त्यस्ता साथीहरूबाट कसरी सावधान बन्ने भन्ने विषयमा विद्यार्थीलाई जानकारी दिनुभएको थियो ।
महेन्द्र माध्यमिक विद्यालय डडेलधुराका प्रधानाध्यापक सुरेन्द्र एरले असल संस्कार सहितको गुणस्तरीय शिक्षा हाम्रो प्रमुख लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले अभिभावकलाई भन्नुभयो हामी यस वर्ष शतप्रतिशत नतिजा ल्याउने गरी शैक्षिक गुणस्तर सुधार गर्दैछौ । यसमा सबै अभिभावक ज्यूहरूको साथ र सहयोग आवश्यक छ ।
बालबालिकाहरूका लागि पढ्ने उपयुक्त वातावरण सिर्जना गर्ने अभिभावकको दायित्व हो प्र.अ. ऐरले भन्नुभयो— बालबालिकाहरूलाई अनुशासित बनाउनका लागि अभिभावक पनि अनुशासित मर्यादित र आदर्श व्यक्ति बन्न जरुरी छ ।

सामाजिक परिवेशमा मेरो बच्चा कस्तो अवस्थामा छ कुनै लागू औषधमा त फसेको छैन भन्ने विषयमा पनि चनाखो बन्नुपर्ने छ । बालबालिकालाई कुलतमा जानबाट रोक्नु अहिले अभिभावकका लागि पनि चुनौतीको कुरा रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गत शैक्षिक सत्रमा आएको एसइई परीक्षाको नतिजा ६१ प्रतिशत राष्ट्रिय रूपमा आएको उत्तीर्ण दर भएकोमा डडेल्धुरा जिल्लामा २७ प्रतिशत मात्रै आएको थियो यो विषय समीक्षा बन्न जरुरी छ ।
चालु शैक्षिक सत्रमा शैक्षिक गुणस्तरको इन्डिकेटरको रूपमा मानिने एसइई परीक्षा मा सुधार हुन जरुरी छ । शैक्षिक गुणस्तरको अवस्था कस्तो छ भन्ने कुरा मापन गर्ने आधार उत्तीर्ण दर भएकोले यसमा सबै अभिभावकहरूले आफ्ना नानीबाबुहरूको भविष्य सुनिश्चित हुने गरी पठनपाठन गराउन हुन प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।
बालबालिकाहरू अभिभावकले गरेका क्रियाकलाप हरूबाट र शिक्षकले देखाउने व्यवहार र गर्ने क्रियाकलापबाट पनि निकै प्रभावित हुने हुँदा शिक्षक र अभिभावक समेत चरित्रवान र आदर्शवान बन्न जरुरी रहेको धारणा उहाँले राख्नुभएको थियो ।
महेन्द्र माध्यमिक विद्यालय खलङ्गा डडेलधुराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक , सुरक्षाकर्मी, सञ्चारकर्मी , बाल क्लबका अध्यक्षहरू ,स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्