पाथीभरामा २ लाख १७ हजार भक्तजनको दर्शन, ३ करोड ११ लाख बढी भेटी संकलन
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुम्लुङ)मा आर्थिक वर्ष २०८१/०८२ मा २ लाख १७ हजार ८७६ जनाले दर्शन गरेका छन्। सोही अवधिमा ३ करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
सबैभन्दा बढी भक्तजन कार्तिक महिनामा पुगेका थिए, जहाँ ६१ हजार १७३ जनाले दर्शन गरेका थिए। त्यसपछि चैतमा ४० हजार ४३५, वैशाखमा ३८ हजार १७०, मंसिरमा २१ हजार १७०, जेठमा १६ हजार २१०, भदौमा ९ हजार ९३९, फागुनमा ७ हजार २२८, असोजमा ५ हजार ९३९, माघमा ४ हजार २४९, असारमा ४ हजार ७६१ र साउनमा सबैभन्दा कम १ हजार ९५५ जनाले दर्शन गरेका थिए।

आर्थिक रूपमा सबैभन्दा बढी भेटी वैशाख महिनामा संकलन भएको थियो, जसको रकम ६० लाख ९० हजार ८१५ रुपैयाँ रहेको छ। चैतमा ५० लाख ५००, मंसिरमा ४१ लाख १७ हजार, कार्तिकमा ३७ लाख ४४ हजार ७५०, पुसमा २९ लाख २५ हजार, जेठमा २३ लाख ९५ हजार, असारमा २३ लाख १० हजार १०५, फागुनमा १३ लाख ३ हजार ५००, भदौमा ११ लाख ३५ हजार ५५५, माघमा १० लाख ४० हजार ३००, साउनमा ६ लाख ९१ हजार र असोजमा सबैभन्दा कम ४ लाख ११ हजार १५१ रुपैयाँ भेटी संकलन भएको हो।
गत आर्थिक वर्षमा पाथीभरा क्षेत्रको विकासका लागि शौचालय निर्माण, सवारी पार्किङस्थल निर्माण, सूचना केन्द्र स्थापनाजस्ता पूर्वाधार निर्माण कार्य सम्पन्न गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्