तपाईँ सुन्दै हुनुहुन्छः

 कञ्चनजङ्घा हिरक महोत्सव घाटामा

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा आयोजना गरिएको हीरक महोत्सव घाटामा गएको आयोजकले बताएको छ ।

गत वैशाखमा आयोजना गरेको महोत्सवमा ३० लाख ९४ हजार ३ सय ३६ रुपैंया घाटा भएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले जानकारी दिनुभयो । संरक्षण क्षेत्रले पत्रकार सम्मेलनको आयोजना गरेर १ करोड ८ लाख ४४ हजार रुपैंया खर्च भएकोमा ७७ लाख ५० हजार मात्र आय भएका बताउनुभयो । 

अध्यक्ष फेम्बुका अनुसार प्रदेश पर्यटन मन्त्रालयले दिने भनिएको ३० लाख रुपैंया आर्थिक वर्ष समापन हुँदाको दिनमा पनि नदिएपछि घाटा भएको बताउनुभयो । महोत्सव  संरक्षण क्षेत्रको कार्यालय फक्ताङलुङ गाउँपालिकाको लेलेपमा आयोजना हुँदा भौगोलिक रुपमा टाढा रहेकोले पनि खर्च बढी भएको आयोजकले जनाएको छ । 

कार्यक्रमका लागि समुदाय परिचालन तथा सरसफाइमा ११ लाख २२ हजार, महोत्सव कार्यक्रम यातायात व्यवस्थापनमा १२ लाख ५० हजार, कदर पत्र वितरणमा ६ लाख ५ हजार रुपैयाँ खर्च भएको छ । यस्तै खेलकुद कार्यक्रममा १३ लाख १५ हजार, सांस्कृतिक कार्यक्रम तथा प्रदर्शनीमा १६ लाख ४१ हजार, महोत्सवको प्रचार प्रसार,सामग्री प्रचार,फोटो प्रदर्शनी र स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमको प्रयोगमा २२ लाख ६६ हजार अतिथि स्वागत सत्कारमा १३ लाख २ हजार, कार्यक्रमस्थल तयारीमा १२ लाख ८५ हजार र कार्यक्रम स्थलमा न्यूनतम पूर्वाधार विस्तारमा ४ लाख ५२ हजार रुपैयाँ खर्च भएको अध्यक्ष फेम्बुको भनाई छ  । 

आम्दानीतर्फ समृद्ध पहाड नेपालले २० लाख, इन्भेस्टमेन्ट बैंकले ४ लाख, विश्व वन्यजन्तु कोष नेपालले ५ लाख, राष्ट्रिय प्रकृति संरक्षण कोषले ३ लाख, रेडपाण्डा नेटवर्कले १ लाख, क्रिष्टल पावर डेभलपमेन्ट प्रालिले १० लाख प्राप्त भएको फेम्बुले जानकारी दिनुभयो । 

यता महोत्सव आयोजनाका लागि ७ वटा हाइड्रोहरू तमोर इनर्जी प्रालि, रिभर साइड हाइड्रो इनर्जी,स्नो रिभर्स लिमिटेड,हिलटन हाइड्रो इनर्जी,रेमिट हाइड्रो लिमिटेड, नेपाल हाइड्रो भेन्चर प्रालि, युनियन हाइड्रो पावर लिमिटेडबाट ३० लाख आय भएको हो । 

नौ स्थानीय तहरहेको जिल्लाको दुई पालिकाले मात्र महोत्सवलाई सहयोग गरेको थियो ।  सिरिजंगा गाउँपालिकाले २ लाख, पाथीभरा याङवरक गाउँपालिकाले १ लाख र फक्ताङलुङ गाउँपालिकाका वडा नं ५ तापेथोक, ६ लेलेप र ७ ओलाङचुङगोलाले ५० हजारका दरले सहयोग गरेको फेम्बू बताउनहुन्छ । महोत्सव बैशाख ५ देखि ७ गते सम्म भएको थियो । 

ब्रिटिस आरोही जो ब्राउन र जर्ज ब्यान्डले दक्षिणी मार्गबाट सन् १९५५ मे २५ मा कञ्चनजङ्घाको  सफल आरोहण गरेका थिए । महोत्सवले नेपालमा मात्र नभई विदेशमा समेत कञ्चनजङ्घा साथै जिल्लाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत महत्वपूर्ण सहयोग पुगेको आयोजकको भनाई  थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button