खिजीदेम्बा गाउँपालिकाको सेवा काठमाडौँमा सुरु
ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको सेवा काठमाडौँमा सुरु भएको छ । राजधानीमा बसोबास गर्ने नागरिकका लागि पालिकाले ३ दिनको एकीकृत शिविर सञ्चालन गरेर सेवा दिन थालेको हो ।

शिविरमा जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ दर्ता, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत र नापीसँग सम्बन्धित सेवा, साथै वडा कार्यालयमार्फत प्रदान गरिने अन्य सेवाहरू उपलब्ध गराउन थालिएको छ । शिविरमा सेवाग्राहीको घुइँचो लागेको छ ।
राजधानीबाट गाउँसम्म ओहोरदोहोर यात्रा गरेर सामान्य सेवाका लागि खर्च र हैरानी गर्नुपर्ने बाध्यता नभई शिविरबाटै सहज सेवा पाइएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गरेका छन् ।
गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अध्यक्षतामा जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा सुरु भएको एकीकृत प्रशासनिक शिविरको कोशी प्रदेशका सांसद प्रदीप कुमार सुनुवारले उद्घाटन गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले काठमाडौँमै शिविर सञ्चालन गरेर राजधानीमा रहेका सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउनु मुख्य उद्देश्य भएको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष सुशीला तामाङ, पूर्व मन्त्री प्रदीप कुमार सुनुवार, नेपाल सरकारका उपसचिव, प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु र सेवाग्राहीको उपस्थिति थियो ।
३ दिनका लागि आयोजना गरिएको शिविरमा सेवाग्राहीको उपस्थिति र आवश्यकताका आधारमा शिविर सञ्चालन गरेर माग बमोजिमको सेवा दिइने उपाध्यक्ष सुशीला तामाङको भनाई छ ।
पूर्व मन्त्री प्रदीप कुमार सुनुवारले पालिकाको यो पहलले नागरिकलाई सङ्घीय शासन प्रणालीको वास्तविक अनुभव दिलाएको भन्दै जनप्रतिनिधिको कामको प्रशंसा गर्नुभयो । सेवाग्राहीहरूले वर्षाको समयमा गाउँ जानुपर्ने झन्झट घटेको भन्दै समय समयमा यस्ता शिविर राखेर ठाउँ ठाउँमा सेवा दिन सुझाव दिनुभयो ।
शिविरको अवसरमा गाउँपालिकाले गरेका काम र भएका प्रगतिको प्रतिवेदनसमेत प्रस्तुत गरेको थियो ।
सेवाग्राहीसँग पालिकाको सेवा प्रवाह तथा समृद्धिका लागि भएका पहलका बारेमा जानकारी दिइने र सुझाव लिइने गाउँपालिकाले जनाएको छ ।
शिविर २६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्