बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको भ्रष्टाचारको मुद्दामाथि सुनुवाई

ढाका । बङ्गलादेशको एक अदालतले पूर्व राष्ट्रपति शेख हसिना र संयुक्त राष्ट्रसङ्घको उच्च अधिकारीका रूपमा काम गरिसकेकी उहाँकी छोरीसहितको परिवारविरुद्ध भ्रष्टाचार विरोधी संस्थाले दायर गरेको मुद्दामाथि सोमबार सुनुवाइ गरेको छ।
सुनुवाईका क्रममा भ्रष्टाचार निरोधी आयोग (एसीसी) का तीन जना अधिकारीहरूले राजधानी ढाकाको एक उपनगरमा आकर्षक प्लटहरूको कथित भूमि हडप्ने तीन अलग–अलग मुद्दाहरूमा आरोपहरू पढेर सुनाएका थिए।
हप्तौँको विद्यार्थी आन्दोलनको बलमा हसिनामाथि राजनीतिक दवाव परेपछि सन् २०२४ अगष्ट ५ मा हेलिकप्टरबाट बङ्गलादेशबाट भागेकी ७७ वर्षीया हसिनामाथि दर्जनौँ मुद्दामा संलग्न रहेको आरोप लागेको छ ।
उहाँले विद्रोहमा भएको घातक दमनलाई लिएर मानवताविरुद्धको अपराधको अभियोगमा आफ्नो छुट्टै र चलिरहेको सुनुवाइमा उपस्थित हुनेसहित भारतबाट फर्कने आदेशको अवहेलना गर्नुभएको छ ।
हसिनासहित उहाँका छोरा सजिब वाजेद जोय र नयाँ दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्व एसिया प्रमुखका रूपमा कार्यरत छोरी साइमा वाजेदलाई भ्रष्टाचारको छ वटा अभियोगमा मुद्दा चलाइएको छ ।
“यदि शेख हसिना, उहाँका छोरा सजीब र छोरी साइमा यस मुद्दामा दोषी ठहरिएमा १४ वर्षको जेल सजाय हुन सक्छ,” एसीसीका वकिल खान मोहम्मद मैनुल हुसेनले एएफपीसँग भन्नुभयो ।
वाजेद डब्ल्यूएचओको जिम्मेवारीबाट बिदामा रहनुभएको छ र एक नयाँ अधिकारीले ‘अफिसर–इन–चार्ज’ को रूपमा पद ग्रहण गर्नुभएको छ ।
हसिनासँग सम्बन्धित भ्रष्टाचारका छ वटा मुद्दा दर्ता भएका छन् । अन्य मुद्दाहरूमा हसिनाकी बहिनी शेख रेहाना र बेलायती सांसद टुलिप सिद्दिकसहित उनका छोराछोरीको पनि नाम जोडिएको छ ।
गत जनवरीमा बेलायत सरकारका भ्रष्टाचार विरोधी मन्त्री सिद्दिकले राजीनामा दिनुभएको छ । सिद्दिकका वकिलले बेलायती सांसदमाथि लगाइएको आरोप झुटो भएको बताउनुभएको छ । रासस
प्रतिक्रिया राख्नुहोस्