तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री यादव र भारत विज्ञ टोलीहरूबिच छलफल

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबिच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल भएको छ ।

आज मन्त्री यादवको विशेष निमन्त्रणामा आउनुभएका भारतीय सरकारका विज्ञ टोलीहरूबिच मधेस प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त टोली भोलि मङ्गलवारदेखि तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिने छन् ।

उक्त छलफलका क्रममा मन्त्री यादवले खानेपानीको सङ्कट सबैभन्दा तीव्र रूपमा वीरगन्ज महानगरपालिकामा देखिएको, बारा र अन्य जिल्लाका विभिन्न वडाहरूमा पनि पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेको बताउनुभयो ।

यसैगरी उहाँले नेपाल सरकार मधेस प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । 

मन्त्री यादवले भारत सरकार जलशक्ति मन्त्रालयसँग केही महिनाअघि हस्ताक्षर भएको समझदारी पत्र (एमओयु) को फलस्वरूप आजको सहकार्य सम्भव भएको र यसले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, उपमहानिर्देशक नारायणप्रसाद आचार्य, मेलम्ची विकास समितिका प्रमुख रत्नप्रसाद लामिछाने सहभागी हुनुहुन्थ्यो ।

यसैगरी भारतीय विज्ञ टोलीका तर्फबाट देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, जगदम्बा प्रसाद, लखनउ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डे लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button