तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिकूलतालाई चिर्दै पुनर्जीवन पाएका ‘लियो’

गोरखा । तस्बिरमा देखिएको यो शावक (चितुवाको बच्चा) लाई कास्कीको पचभैया वन्यजन्तु उद्धार केन्द्र, वन विभागका कर्मचारी सबैले लाडप्यारले ‘लियो’ भनेर बोलाउँछन् । गत माघ २१ गते गोरखाको पालुङटार नगरपालिका–१० मिरकोटको सामुदायिक वनबाट लियोको मरणासन्न अवस्थामा उद्धार गरिएको थियो । करिब तीन हप्ताको लियो जङ्गलमा रोइरहेको अवस्थामा स्थानीयले फेला पारेका थिए । लियोकी आमा र अर्को शावक नजिकै मृत फेला परेका थिए । स्थानीयले भेट्दा लियो पिलपिल रोइरहेको थियो ।

डिभिजन वन कार्यालय गोरखालाई उनीहरूले लियो बुझाएका थिए । डिभिजन वन कार्यालयका प्रमुख मदन मोहन शाण्डिल्यले भन्नुभयो, “घटनास्थलमा लियोकी आमा र उसको लियोसँगैको अर्को बच्चा मरिसकेका थिए । लियो भने रोइरहेको, कराइरहेको अवस्थामा फेला परेको थियो ।”  

नाजुक अवस्थामा फेला परेको लियोलाई स्थानीय बासिन्दा, वन कार्यालय र वन्यजन्तु विशेषज्ञहरूले छिटो उद्धार गरेको कारण बाँच्न सफल भएको उहाँले बताउनुभयो । लियोकी आमा र उसको अर्को बच्चाको मृत शरीर बेलायतको केन्ट विश्वविद्यालयकी विद्यावारिधिका शोधार्थी  तथा वन्यजन्तु पशु चिकित्सक डा जेसिका बोडजीनरले परीक्षण गर्नुभएको थियो । बोडजीनरको परीक्षण प्रतिवेदनमा उनीहरूको मृत्यु भाले चितुवाको आक्रमणमा भएको अनुमान गरिएको छ । “भाले चितुवाले उनीहरूमाथि घातक आक्रमण गर्‍यो । आफ्ना बच्चाहरूको रक्षा गर्ने क्रममा आमा अनि एउटा बच्चा मारिए”, बोडजीनरले भन्नुभयो, “बाघ वा चितुवाजस्ता ठूला बिरालो प्रजातिमा ‘इनफ्यान्टिसाइड’ भन्ने व्यवहार हुन्छ । जसमा भालेले आफ्नो नभएका बच्चाहरू मार्न खोज्छन्, जसले पोथीलाई पुनः प्रजनन अवस्थामा ल्याउन चाहन्छन् ।” लियो सँगैको अर्को शावकको आक्रमण र भोकका कारण मृत्यु भएको हुनसक्ने डा बोडजीनरको अनुमान छ ।  

सुरुमा चिकित्सकहरू लियो बाँच्छ या मर्छ भन्नेमा निश्चिन्त थिएनन् । “हाम्रा कर्मचारीले लियोलाई भेट्दा, ऊ दुई दिनभन्दा बढी बाँच्ला भन्ने लागेकै थिएन”, डिभिजन वन कार्यालय प्रमुख शाण्डिल्य भन्नुहुन्छ, “ऊ यति सानो र कमजोर थियो, अहिले ऊ स्वस्थ हुँदै गएको खबर सुन्दा हामी अत्यन्तै खुसी छौँ ।”

लियोलाई डिभिजन वन कार्यालय गोरखामा प्राथमिक उपचारपश्चात् थप उपचार र संरक्षणका लागि कास्कीको पचभैया वन्यजन्तु उद्धार केन्द्रमा सारिएको थियो । त्यहाँका डाक्टर किशोर आचार्यको नेतृत्वमा उसलाई २४ सै घण्टा हेरचाह गरियो । उद्धार केन्द्रमा लियोलाई बोतलबाट दूध खुवाउनेदेखि दिसा–पिसाब गराउन सहयोग गरिएको डाक्टर आचार्यले बताउनुभयो । “लियो बाँचेको तथ्य आफैँमा उद्धार केन्द्रको कर्मचारीको समर्पण र कडा मेहनतको प्रमाण हो”, उहाँले भन्नुभयो, “टुहुरा चितुवा बच्चाहरूलाई हातले हुर्काउनु अत्यन्तै चुनौतीपूर्ण हुन्छ र धेरैजसो त बाँच्नै सक्दैनन् । भारतमा भएका यस्तै प्रयासहरूका तथ्याङ्कले ५० प्रतिशतभन्दा बढी हातले हुर्काइएका चितुवा बच्चाहरू जिउँदै रहन नसक्ने देखाउँछ । तर लियोले यी सबै प्रतिकूलतालाई जितेको छ ।”

लियोले सुरुमा ढिलो प्रगति गरे पनि हाल छिटोछिटो तन्दुरुस्त हुँदै गएको छ । “अहिले लियोको तौल १२ किलोग्राम पुगेको छ । जुन उसको उमेरका लागि स्वस्थ तौल मानिन्छ”, उहाँले भन्नुभयो । हालसालै गरिएको स्वास्थ्य परीक्षण र एक्सरेले उसमा छातीमा कुनै किसिमको समस्या नभएको पुष्टि भएको डाक्टर आचार्य बताउनुहुन्छ । 

लियोको बढ्दो आकारलाई ध्यानमा राख्दै, वाइल्ड टाइगरका संरक्षणकर्मी ज्याक किनरोसले जेन गुडअल इन्स्टिच्युटसँगको सहकार्यमा नयाँ घेराबार प्रणाली निर्माणका लागि आर्थिक स्रोत जुटाउनुभएको छ । यसले लियोलाई भविष्यमा पुनः प्राकृतिक आवासमा फर्काउन सकिन्छ कि भन्ने मूल्याङ्कन प्रक्रिया सुरु गर्न मद्दत पु(याउने बताइएको छ । 

स्थानीय समुदाय, वनका कर्मचारी र पशु चिकित्सक बीचको समन्वयले लियोको नयाँ जीवन सम्भव भएको कास्कीका डिभिजन वन अधिकृत कोमलराज काफ्लेले बताउनुभयो । “लियोको सफल उद्धार र पुनःस्थापना आफैँमा सबै मिलेर संरक्षणको क्षेत्रमा काम गरे के प्राप्त गर्न सक्छौँ भन्ने उत्कृष्ट उदाहरण हो”, उहाँले भन्नुभयो । 

हालका लागि, लियोलाई पोखरा जुलोजिकल पार्कमा विशेष निगरानीमा राखिएको छ । उसको जीवनको यो अद्वितीय सङ्घर्ष र सफलताले नेपालभरिका संरक्षणकर्मीलाई आशा र प्रेरणा दिइरहेको उनीहरू बताउँछन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button