मौसम प्रतिकूलताका कारण बडिमालिकामा मृत्यु भएका तीर्थयात्रीको उद्धार हुन सकेन

बाजुरा ।बाजुराको बडिमालिका मन्दिर बाट दर्शन गरेर फर्कने क्रममा लडेर मृत्यु भएका बिप्लब ओझाको उद्धार हुन सकेका छैन । बडिमालिका दर्शन गरेर फर्किने क्रममा लडेर मृत्यु भएका पूर्व शिक्षा मन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लबको हेलिकप्टर मार्फत उद्धार गर्न खोजिएको भए पनि मौसम प्रतिकुलताका कारण अझै उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बडिमालिकामा हुने आपत्कालीन उद्धार सेवाका लागि नेपाली सेनाको हेलिकप्टर भने २ दिन देखि सदरमुकाम मार्तडी स्थित ईश्वरी बक्स गुल्ममा तयारी अवस्थामा राखिएको छ।

गोकणश्वर(५ काठमाडौँका मृतक ओझा भिर बाट निकै तल करिब ७ सय मिटर खोचमा भएकाले उद्धार गर्न निकै कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले बताउनुभयो ।
प्रहरी उद्धारका लागि प्रयास गरिरहेको छ । निकै अफ्ठयारो बाटो र मौसम खराब भएकाले उद्धार हुन नसकेको हवारिको भनाइ छ । ओझा बिहीबार राति नै बडिमालिका दर्शन गरेर फर्केका बेला लडेर मृत्यु भएको थियो ।
बडिमालिका मन्दिर बाट १ घण्टाको दुरीमा तल झर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सँग परिवारकै ५ जनाको टिम रहेको थियो। बडिमालिकामा आज विशेष पूजा लागि रहेको छ । शक्तिपिठका रुपमा रहको बडिमालिकामा हरेक बर्ष साउन चतुर्दशीका दिन पूजा लाग्ने गर्दछ।








प्रतिक्रिया राख्नुहोस्