जनचाहना अनुसार प्रभावकारी ढंगले अघि बढ्नुपर्छ : सभामुख घिमिरे

भक्तपुर । सभामुख देवराज घिमिरेले जनताको चाहना र आवश्यकताको आधारमा राजनीतिक दलहरूले नीति र नेतृत्व निर्माण गर्दै प्रभावकारी ढंगले अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
आज भक्तपुरमा सोमप्रसाद मिश्रद्वारा लिखित शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले गणतन्त्रको मेरुदण्ड राजनीतिक दलहरू भएको बताउनुभयो ।
दलहरूले संसद्लाई मजबुत बनाउन निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिनुहुँदै उहाँले जनताको विश्वास जित्ने आधार निर्माणका लागि राजनीतिक दलहरू उत्तिकै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
संसदीय प्रणालीमा राजनीतिक दलहरूले नीति निर्माण गर्ने ठाउँलाई खुला राख्दै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई प्रभावकारी बनाउन गम्भीर हुनुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले अहिले इमान्दारी र निष्ठापूर्वक अघि बढ्दै संस्था निर्माण गर्नुपर्ने आवश्यकता खड्किएको बताउँदै चुनौतीहरूलाई सामना गर्दै अघि बढ्ने अवसर दलहरूसमक्ष आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले दलहरूका क्रियाकलाप जनताले नियालिरहेको बताउनुभयो ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले दलहरू वैचारिक रुपमा पुनर्गठित हुन नसके बिलय हुने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी, संघीय सांसद दुर्लभ थापा, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, लेखक सोमप्रसाद मिश्र लगायतले पुस्तकका विविध पक्षबारे चर्चा गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्