नेपालगन्जमा दुर्घटनाको जोखिम बढेपछि छाडा पशुचौपाया कान्जीहाउस लगियो

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याएको छ ।
बजार क्षेत्रमा छाडा छोडिएका ७९ वटा पशुचौपायालाई आज बिहान वडा नम्बर २१ बिर्तास्थित कान्जीहाउसमा लगिएको छ । ती मध्ये ४८ वटा गाईगोरु र बाच्छाबाच्छी तथा ३१ वटा घोडा–खच्चड कान्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिनुभयो ।

बजारमा छाडा पशुचौपायाको सङ्ख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम बढेपछि छाडा पशुचौपायालाई कान्जीहाउस लगिएको बोगटीले बताउनुभयो । नगरका विभिन्न भागमा छरिएर रहेका छाडा पशुचौपायालाई एकत्रित गरेर एकसाथ कान्जीहाउस पुर्याइएको थियो । बोगटीका अनुसार ट्राफिक चोकदेखि राँझा चोक तथा बजार क्षेत्रभित्र सडकमा रहेका छाडा पशुचौपायालाई एकिकृत गरी कान्जीहाउस लगिएको हो ।

नगर प्रहरीको टोलीले छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याएको हो । नगर प्रहरीले सडकमा छाडा पशुचौपायाको सङ्ख्या बढ्दा कान्जीहाउस लैजाने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्