मनसुनजन्य विपद्सँग जुध्न बाँकेमा ‘समुदाय विपद् स्वयंसेवक’ उत्पादन

नेपालगञ्ज । बाँकेमा लुम्बिनी प्रदेशमै पहिलो पटक समुदाय विपद् स्वयंसेवक तयार भएका छन् ।
सशस्त्र प्रहरी बल नेपालले पहिलो पटक समुदाय विपद् स्वयंसेवक तयार गरेको हो । सशस्त्र प्रहरी–बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगञ्जले तालिम दिएको हो ।
मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाका २५ जना युवाहरूलाई तालिम दिएर समुदाय विपद् स्वयंसेवक तयार पारिएको हो । स्थानीय तह र वडा स्तरमा विपद् स्वयंसेवक तथा विपद् सूचकहरू उत्पादन गर्ने नीति अनुसार तालिम दिइएको हो ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले राप्तीसोनारी गाउँपालिका विपद्का हिसाबले जोखिमयुक्त भएकाले अझै यस खाले समुदाय विपद् स्वयंसेवक तयार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीले पहिलोपटक उत्पादन गरेका स्वयंसेवकको क्रमिक क्षमता वृद्धि तथा प्रोत्साहनका कार्यक्रम गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगञ्जको आयोजना, राप्तीसोनारी गाउँपालिकाको समन्वय तथा कारितास नेपाल र बी-ग्रुपको सहजीकरण र सहकार्यमा तालिम सञ्चालन भएको हो ।
तालिममा नेपालमा विपद व्यवस्थापन प्रणाली, विपद व्यवस्थापन सम्बन्धि जानकारी, मेडिकल फर्स्ट रेस्पोण्डर अर्थात् विपद स्थलमा पुगेपछि घाइतेको जीवन रक्षाका लागि गरिने पहिलो उपचार सम्बन्धि सीप सिकाउने, बाढीपहिरो तथा डुबानमा उद्धार कसरी गर्ने, अग्नी नियन्त्रण र वन डढेलो नियन्त्रणमा कसरी काम गर्ने, डोरीद्वारा उद्धार गर्ने तरिका, भूकम्पको जोखिम न्यूनीकरणमा कसरी काम गर्ने, सडक दुर्घटनाको जोखिम न्यूनीकरण तथा उद्धार लगायतका विषयवस्तुमा सीप प्रदान गरिएको प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा बताउनुभयो ।
१८ कार्य दिनको तालिम राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पाठ्यक्रमका आधारमा प्रदान गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वर डिसीले बताउनुभयो । समुदायस्तरमा घट्ने विभिन्न विपद्जन्य घटना व्यवस्थापन तथा घाइतेको जीवन रक्षाका लागि पहिलो उपचार गर्न स्थानीय नागरिकलाई सक्षम बनाउने तालिमको मुख्य उद्देश्य रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेर गन्जका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रमोद कुमार भारतीले बताउनुभयो ।
सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशमा ५०० जना विपद स्वयंसेवक तथा विपद सूचकहरू तयार गर्दैछ । आगामी आर्थिक वर्षभित्र देशभर ३६ सय ७५ जना समुदाय विपद् स्वयंसेवक तथा विपद सूचकहरू तयार गर्ने लक्ष्य रहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रत्येक वडामा २५ जना विपद सूचक तयार गर्ने लक्ष्य छ ।
प्रतिक्रिया राख्नुहोस्