मानव विकास प्रतिवेदन २०२५ सार्वजनिक

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले आज एक औपचारिक कार्यक्रमकाबीच ‘मानव विकास प्रतिवेदन, २०२५ (ह्युमन डेभलपमेन्ट रिपोर्ट, २०२५) सार्वजनिक गरेको छ ।
प्रतिवेदनले मानव विकासका बहुआयामिक पक्षमा कृत्रिम बौद्धिकता (एआई) ले कस्तो प्रभाव पार्न सक्छ ? र सम्भावना देखाएको छ, भन्ने विषयवस्तुलाई केन्द्रमा राखेको छ । एआईको प्रयोगबाट मानव विकासलाई थप सशक्त बनाउन, समावेशितालाई प्रवर्द्धन गर्न र न्यायपूर्ण समाज स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेल्नसक्ने सम्भावनालाई पनि प्रतिवेदनले उजागर गरेको छ ।
उक्त प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले सूचना प्रविधि (आईटी) क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । यसका लागि कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर स्थापना, डिजिटल अर्थतन्त्र र प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्नेगरी नीतिगत प्रयासहरू अगाडि बढाइएको उहाँको भनाइ छ ।
मन्त्री गुरुङले अनुसन्धान र विकास क्षेत्रमा एआईको प्रयोग बढाउने नीति लिइएको समेत बताउनुभयो । त्यस्तै शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रमा एआईलाई कसरी प्रभावकारी ढङ्गले उपयोग गर्न सकिन्छ र यसले नेपालको उत्पादकत्व तथा नागरिक सेवा प्रवाहलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने बारे पनि अध्ययन भइरहेको उहाँको भनाइ छ ।
नेपाल डाटा सेन्टर स्थापनाका लागि प्राकृतिक रूपले उपयुक्त भएको बताउँदै मन्त्री गुरुङले यसलाई डिजिटल अर्थतन्त्रको आधारस्तम्भ बनाउने योजना रहेको समेत उल्लेख गर्नुभयो । हिमाली क्षेत्रको चिसो मौसम र सस्तो हरित ऊर्जा (जलविद्युत्) उपलब्धताले नेपाललाई डाटा सेन्टर स्थापनाको लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना रहेको मन्त्री गुरुङको भनाइ छ ।
“सरकारले सूचना प्रविधि आधारित उद्यमशीलता प्रवर्द्धन गर्ने र प्रविधिमा निजी लगानी बढाउने नीति लिएको छ । यसका लागि विदेशी कम्पनीलाई पनि नेपालको आईटी क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरी रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा पनि टेवा पुग्ने विश्वास गरेका छौँ,” गुरुङले भन्नुभयो ।
सरकारले प्रत्येक प्रदेशमा आईटी हब स्थापना गर्ने योजना बनाएको र यसका लागि आधारभूत संरचना विकासका लागि पहल भइरहेको पनि सञ्चारमन्त्री गुरुङले बताउनुभयो । नेपालले यसअघि नै कार्यान्वयन गरिसकेको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई अझ परिष्कृत र व्यवस्थित बनाएर कार्यान्वयन गरिने र यसबाट सरकारी सेवा डिजिटलाइजेसन, ई–गभर्नेन्स र नागरिकहरूको डिजिटल पहुँचमा सुधा ल्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
युएनडिपी नेपालका आवासीय प्रतिनिधि क्योको योकोसुकाले कृत्रिम बौद्धिकताको प्रयोगबाट कसरी लाभ लिन सकिन्छ र यसका चुनौती के हुन सक्छन् भन्ने कुरालाई केन्द्रमा राखेर प्रतिवेदन ल्याइएको बताउनुभयो । नेपालको हकमा समावेशी सेवा प्रवाह, स्थानीय तहहरूको कार्यक्षमतामा सुधार, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण, तथ्याङ्कमा आधारित नीति निर्माणजस्ता क्षेत्रमा एआईको प्रयोग प्रभावकारी हुनसक्ने देखिएको उहाँको भनाइ थियो ।
सोही कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिका क्षेत्रमा विभिन्न सुधारका प्रयास भइरहेको बताउनुभयो । “डिजिटल नेपाल फ्रेमवर्क, राष्ट्रिय सूचना प्रविधि नीति तथा दूरसञ्चारसम्बन्धी कानुनलाई अद्यावधिक गर्नुपर्नेछ । त्यस्तै, साइबर सुरक्षा, कृत्रिम बौद्धिकतालगायत क्षेत्रको कानुनी र प्राविधिक पूर्वाधार निर्माणका विषय पनि प्राथमिकतामा छन्,” अर्यालले भन्नुभयो । विभिन्न स्थानमा डाटा सेन्टर निर्माण, एकीकृत ई–गभर्नेन्स प्रणाली विकासजस्ता आधारभूत डिजिटल पूर्वाधारमा पनि सरकारले ध्यान केन्द्रित गरिरहेको उहाँको भनाइ छ ।
मानव विकास सूचकाङ्कमा नेपाल मध्यम खालको मानव विकास भएका मुलुकको सूचीमा छ । नेपाल शून्य दशमलव ६२२ सूचकाङ्कसहित एक सय ४५औँ स्थानमा छ । पछिल्लो ३५ वर्षमा नेपालको मानव विकास सूचकाङ्कमा ५४ प्रतिशतको वृद्धि भएको पनि प्रतिवेदनमा उल्लेख छ । नेपालको मानव विकास सूचकाङ्क खराब हुनुमा प्रतिव्यक्ति आय कमजोर हुनु र लैङ्गिक असमानता कायम रहनुलाई पनि प्रमुख कारण मानिएको छ । रासस
प्रतिक्रिया राख्नुहोस्