हडियावासीलाई आफ्नै पालिकाको केन्द्र जान डुंगाको भर: जोखिमपूर्ण यात्रा अझै जारी

उदयपुर । वर्खा सुरु भएसँगै उदयपुरको चौदण्डीगढी नगरपालिका–९ र १० हडियाका बासिन्दा आफ्नै पालिकाको केन्द्र वा वडा कार्यालय जानसमेत डुंगाको भर पर्न बाध्य छन्। त्रियुगा नदी पार गर्नुपरेका कारण करिब २० हजार नागरिक दैनिकजसाे जोखिम मोलेर आवतजावत गर्न विवश छन्।
नगरपालिकाको प्रशासनिक केन्द्र बेल्टार, वडा कार्यालय वा अन्य सेवा लिनका लागि वडा नं. ५, ९ र १० का बासिन्दाले त्रियुगा नदी डुंगा वा हेलिएर तर्नुपर्ने बाध्यता रहेको छ। चौदण्डीगढी–९ हडियाका चन्द्रहांस चौधरी भन्छन्, “वर्खा लागेपछि हाम्रो पीडाका दिन सुरु हुन्छन्। ज्यान जोखिममा राखेर डुंगा चढ्नु बाहेक विकल्प छैन।”
विकल्प के छ?
डुंगाको विकल्प नलिई हडियाबाट वडा कार्यालय पुग्न करिब ३० किलोमिटरको दूरी तय गरी मधेश प्रदेशको सप्तरी हुँदै घुम्नुपर्छ। तर त्यो बाटो पनि सजिलो छैन—बीचमा १८ वटा साना–ठूला खोला पार गर्नुपर्ने हुन्छ।
स्थानीय बासिन्दा सरकारी उपेक्षामा आक्रोशित छन्। उनीहरू भन्छन्, “२५ वर्षदेखि नारायण खड्कालाई भोट दिएर जितायौं। उहाँ मन्त्रीसमेत बन्नुभयो। तर हडिया र शिवाईका बासिन्दाको पीडामा मलमपट्टी गर्न सक्नुभएन।”

पुनः नयाँ डुंगा, समस्या उस्तै
नगरपालिकाले बिहीबार नयाँ डुंगा खरिद गरी हडिया–ज्यामिरे जोड्ने त्रियुगा नदीमा सञ्चालनमा ल्याएको छ। २०७४ सालमा निर्वाचित वडा अध्यक्ष प्रकाश राउतले पहिलोपटक डुंगा सञ्चालनमा ल्याएका थिए। तर पुरानो डुंगा जिर्ण भएपछि २०७९ मा पुनः निर्वाचित भएका राउतले नयाँ डुंगा खरिद गरेका हुन्। हालसालै पुरानो डुंगामा प्वाल परेपछि अर्को नयाँ डुंगा ल्याइएको हो।
तर समस्या यहीमा सीमित छैन। चौदण्डीगढी–५ स्थित शिवाई–बेल्हा जोड्ने त्रियुगा नदीमा १४ वर्षअघि सुरु भएको पक्की पुल अझै निर्माण सम्पन्न हुन सकेको छैन। त्यस क्षेत्रका बासिन्दा पनि डुंगा वा हेलिन बाध्य छन्।
वडा अध्यक्ष राउत भन्छन्, “डुंगा चलाउने तालिमप्राप्त व्यक्ति छैनन्। तर पनि बाढीको जोखिम मोलेर जनतालाई सेवा दिनु विकल्प नभएको देखिन्छ।”
डुंगा सेवा निःशुल्क होइन
हिउँदमा त्रियुगा नदीमा ह्युमपाइप राखेर यातायात सहज हुने गरे पनि वर्षामा त्यो विकल्प बन्द हुन्छ। वडाध्यक्ष राउतका अनुसार, डुंगा सेवा निःशुल्क गर्ने प्रयास भए पनि सञ्चालन खर्च बेहोरिनुपर्ने भएकाले न्यूनतम शुल्क लिनुपर्ने निर्णय गरिएको हो।
स्थानीयले डुंगा चढ्न प्रतिव्यक्ति ५० रुपैयाँ, खसी–बाख्राका लागि २० रुपैयाँ र चामलको बोरा प्रति बोरा ५ रुपैयाँ तिर्नुपर्नेछ।
नगरपालिकाले यसपटक सञ्चालनमा ल्याएको डुंगा सुनसरीबाट १ लाख ७५ हजार रुपैयाँमा खरिद गरिएको हो।
स्थानीय सरकारको गुनासो, संघ र प्रदेशको मौनता
चौदण्डीगढी नगरपालिकाका प्रमुख कालु लामाले भन्नुभयाे, “त्रियुगा नदीमा पुल निर्माण गर्न स्थानीय सरकारसँग स्रोत छैन। संघ र प्रदेश सरकार मौन छन्, हामी टुलुटुलु हेरेर बस्न बाध्य छौं।”
नगर प्रमुख लामाले थप्नुभयाे, “तीनतहमध्ये सबै तहको जिम्मेवारी हो। तर कसैले पनि ध्यान नदिँदा नागरिकलाई वर्षेनि यस्तै जोखिम मोल्नुपरेको छ।”








प्रतिक्रिया राख्नुहोस्