प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ,सभामुखद्वारा दलहरूसँग छुट्टाछुट्टै छलफल
काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको विषयलाई लिएर संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेले प्रतिपक्ष दल र सत्तापक्षीय दलका प्रमुख र मुख्य सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

संसद् अवरोध खुलाउने सन्दर्भमा सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल सकेर नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गर्नुभएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक सुरु हुनुअघि प्रतिपक्षी दलहरू संसद् भवन नयाँ बानेश्वरमा छलफलमा जुटेका छन् ।
प्रमुख प्रतिपक्षी दलको नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को कार्यकक्षमा भएको बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीलगायत दलका नेताहरू सहभागी हुनुहुन्छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान कायम राखेका छन् ।
सत्तापक्षीय दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिन नपर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्