तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीले लुम्बिनीमा ५०० ‘विपद स्वयंसेवक तथा सूचक’ तयार गर्दै

नेपालगञ्ज । सशस्त्र प्रहरी बल नेपालले लुम्बिनी प्रदेशमा ५०० जना विपद स्वयंसेवक तथा विपद सूचकहरू तयार गर्दैछ । आगामी आर्थिक वर्षभित्र देशभर ३६ सय ७५ जना विपद स्वयंसेवक तथा विपद सूचकहरू तयार गर्ने लक्ष्य रहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रत्येक वडामा २५ जना विपद सूचक तयार गर्ने लक्ष्य छ ।

स्थानीय तह र वडा स्तरमा विपद स्वयंसेवक तथा विपद सूचकहरू उत्पादन गर्ने नीति अनुसार बाँकेमा पनि तालिम सुरु भएको छ । जेठ १४ गतेदेखि पहिलो चरणको तालिम सुरु भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगञ्जले जनाएको छ । गणमै तालिम भइरहेको छ । मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाका २५ जना युवाहरूलाई तालिम दिन सुरु गरिएको हो । 

तालिममा नेपालमा विपद व्यवस्थापन प्रणाली, विपद व्यवस्थापन सम्बन्धि जानकारी, मेडिकल फर्स्ट रेस्पोण्डर अर्थात् विपद स्थलमा पुगेपछि घाइतेको जीवन रक्षाका लागि गरिने पहिलो उपचार सम्बन्धि सीप सिकाउने, बाढी(पहिरो तथा डुबानमा उद्धार कसरी गर्ने, अग्नी नियन्त्रण र वन डढेलो नियन्त्रणमा कसरी काम गर्ने, डोरीद्वारा उद्धार गर्ने तरिका, भूकम्पको जोखिम न्यूनीकरणमा कसरी काम गर्ने, सडक दुर्घटनाको जोखिम न्यूनीकरण तथा उद्धार लगायतका विषयवस्तुमा सीप प्रदान गरिने प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा बताउनुभयो । 

१८ कार्य दिनको तालिम राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पाठ्यक्रमका आधारमा दिइँदै छ । तालिममा कारितास नेपाल र सिआरएस नेपालले सहकार्य गरेका छन् । राप्तीसोनारी गाउँपालिकाको समन्वय रहेको छ । समुदायस्तरमा घट्ने विभिन्न विपद्जन्य घटना व्यवस्थापन तथा घाइतेको जीवन रक्षाका लागि पहिलो उपचार गर्न स्थानीय नागरिकलाई सक्षम बनाउने तालिमको मुख्य उद्देश्य रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेर गन्जका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रमोद कुमार भारतीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button