तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०८१/८२ पेश गर्नुभएको छ ।

बैठक सुरु हुनु बित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभयो ।

प्रमुख सचेतक पाण्डेले आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्न दिइने बत्ताएपछि पौडेलले आर्थिक सर्वेक्षण २०८१/८२ पेश गर्नुभएको हो ।

आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत र नेपालको अर्थतन्त्रको आकार ६१ खर्व ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको बताउनुभयो ।

उहाँले चालुअर्थिक वर्षको ८ महिनाको अवधिमा कुल ग्राहस्थ उत्पादन वृद्धिमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान रहेको बताउनुभयो । 

अर्थ मन्त्री पौडेलले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १५१७ अमेरिकी डलर पुगेको, औसत उपभोक्ता मुद्रा स्फ्रिती ४.७२ प्रतिशत रहेको उल्लेख गर्नुभयो ।

चालु आर्थिक वर्षको फागुनसम्म संघीय खर्च ४.४६ प्रतिशत र संघीय राजस्व १२.६ प्रतिशतले बढेको, वैदेशिक सहायता उल्लेख्य बढेको, संघीय सरकारको वित्त घाटा १६ अर्ब १९ करोड रहेको अर्थमन्त्री पौडेलले जानकारी गराउनुभयो । 

यसअघि, बैठकको सुरुमा प्रमुख सचेतक पाण्डेले आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्न दिए पनि भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने र गृहमन्त्री रमेश लेखकको राजीनामा नभएसम्म संसद् चल्न नदिने बताउनुभयो ।

प्रतिपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर मङ्गलवार र बुधवारको प्रतिनिधिसभा बैठकमा अवरोध गरेका थिए । प्रतिपक्षीको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन । 

प्रतिनिधि भएको अर्को बैठक आजै अपराह्न ५ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button