शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षा मन्त्रालयद्वारा थप समय माग

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप एक साताको समय माग गरेको छ ।
शिक्षा समितिको आजको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलका क्रममा शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूको माग सम्बोधनका विषयमा नेपाल शिक्षक महासङ्घसँग छलफल जारी रहेकाले विधेयकमाथिको छलफलका लागि सात दिनको समय माग गर्नुभयो ।
छलफलमा सांसदहरुले विधेयकमा रहेका विभिन्न विषयहरूमा सरकारको धारणा आउनुपर्ने माग गरेपछि मन्त्री पन्तले शिक्षकहरूसँग छलफल चलिरहेको भन्दै टुङ्गोमा पुगेपछिमात्रै सरकारले आधिकारिक धारणा ल्याउने बताउनुभयो ।
शिक्षा मन्त्री पन्तको अनुरोधपछि शिक्षा समिति सभापति अम्मरबहादुर थापाले एक सातापछिको बैठकमा विधेयकका सम्बन्धमा आफ्नो आधिकारिक धारणा ल्याउन मन्त्रालयलाई निर्देशन दिनुभयो ।
शिक्षामन्त्री पन्तले शिक्षकहरूसँग भएका नौ बुँदे सहमतिसहित यसअघिका सहमतिहरूका बारेमा समेत शिक्षकहरूसँग छलफल चलिरहेको बताउनुभयो ।
शिक्षामन्त्री पन्तले आर्थिक रूपमा सरकार दबाबमा परे पनि सहमति कार्यान्वयन गर्न सरकार लचिलो रहेको र छिट्टै टुङ्गोमा पुग्ने बताउनुभयो ।
शिक्षकका माग सम्बोधन गर्दा सरकारलाई आर्थिक भार पर्ने भएकाले शिक्षा मन्त्रालयले मात्र निर्णय गर्न नसक्ने भन्दै शिक्षामन्त्री पन्तले आगामी छलफलमा अर्थ मन्त्रालयका कर्मचारीलाई पनि बोलाउन समितिलाई सुझाव दिनुभयो ।
छलफलमा सांसदहरुले शिक्षकहरूसँग पछिल्लो नौ बुँदे सहमतिसँगै यसअघि भएका सबै सहमतिको कार्यान्वयन, प्रारम्भिक बाल विकासको व्यवस्थापन र बालविकास पढाउनेहरूको सेवा सुविधा, निजी विद्यालयहरूलाई सार्वजनिक गुठीमा लैजान समय तोक्नेलगायतका सन्दर्भमा सरकारको आधिकारिक धारणा माग गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्