तपाईँ सुन्दै हुनुहुन्छः

द्वन्द्व प्रभावित एकल महिलालाई अचार बनाउन सिकाई आत्मनिर्भर बनाइँदै

नेपालगन्ज । द्वन्द्व प्रभावित, बेपत्ता तथा एकल महिलाहरूलाई अचार बनाउन सिकाइएको छ । नेपालगन्जमा सात दिने अचार बनाउने तालिमको आयोजना गरेर सीप सिकाइएको हो । 

तालिममा सहभागी ३० जनाले ६ प्रकारका अचार बनाउन सिकेको आयोजक द्वन्दपीडित तथा एकल महिला सञ्जालका कार्यवाहक अध्यक्ष बिन्दा खरेलले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा ‘सीप सिकौँ र आत्मनिर्भर बनौँ’ भन्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको द्वन्दपीडित तथा एकल महिला सञ्जालका सचिव विजया रोकायाले बताउनुभयो । एकल महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउने तालिमको उद्देश्य हो । तालिमका प्रशिक्षक अनु पाण्डेले सहभागीहरूको विगतको कुरा सुन्दै उनीहरूलाई सान्त्वना दिँदै तालिम सञ्चालन गरेको बताउनुभयो । सहभागी महिलाहरूको उत्सुकताले आफूहरूलाई पनि हौसला थपिएको पाण्डेले बताउनुभयो ।

समापन कार्यक्रममा एकल महिला सञ्जाल बाँकेका संस्थापक अध्यक्ष शोभा बिसीले एकल महिलाहरू आत्मनिर्भरसँगै उदाहरण बन्नुपर्ने बताउनुभयो । उहाँले अझै पनि द्वन्दको चोट बिर्सन नसकेको बताउँदै यस्ता खालका तालिमले कमसेकम द्वन्द्व प्रभावित, द्वन्दपीडित सबैलाई घाउमा मल्हमको काम गर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं। ९ का वडाध्यक्ष गोविन्द प्रसाद रेग्मीले आफ्नै वडामा निर्माण भएको सञ्जालको भवनमा यस्ता खालका कार्यक्रम निरन्तर हुनुपर्ने बताउनुभयो । उहाँले संस्थाको उद्देश्य अनुसारको छहारी घर निर्माणमा पनि वडा कार्यालयले सक्दो सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा आत्मनिर्भर सम्बन्धि विभिन्न खाले मागमा आधारित तालिमहरू वडाले सञ्चालन गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button