रारा गोल्डकप: आजबाट सेमिफाइनलका खेल हुँदै
धनकुटा। धनकुटाको राजारानीमा जारी रारा गोल्डकप फुटबल प्रतियोगिताको १२ औँ संस्करणमा शुक्रवारबाट सेमिफाइनलका खेल हुंदैछन्।
शुक्रबार हुने पहिलो सेमिफाइनलको खेलमा गोल्डेन स्टार युथ क्लब सुनसरी र विर्तामोड युनाइटेड क्लब झापा बीच हुने भएको छ। उक्त खेल शुक्रबार दिउँसो ३ बजेपछि राजारानी खेलमैदान हुनेछ। आयोजक रारा फुटबल क्लबलाई ४–० गोलले पराजित गर्दै गोल्डेन स्टार सेमिफाइनलमा पुगेको हो। यस्तै सलहेश फुटबल क्लब सिराहालाई ट्राइबेकरमा २–१ गोलले पराजित गर्दै विर्तामोड युनाइटेड अन्तिम चारमा पुग्न सफल भएको हो। शनिबार हुने दोस्रो सेमिफाइनलमा एलएक्स सिटी फुटबल क्लब मोरङ र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ बीच प्रतिस्पर्धा हुनेछ।

एलएक्स सिटीले धनकुटाको डाँडाबजार फुटबल क्लबलाई ० का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो भने बागमती युथ क्लब सर्लाहीलाई ट्राइबेकरमा १ का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड अन्तिम चारमा पुग्न सफल भएको हो। दुवै सेमिफाइनलका विजेताबिच रारा गोल्डकपको १२ औँ संस्करणको फाइनल खेल आगामी आइतबार हुने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिनुभयो।
प्रतियोगिताका विजेताले नगद ७ लाख रुपैयाँ र उपविजेतालाई नगद ३ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने र सबै विधाका सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। यही वर्षबाट धनकुटाको सबैभन्दा बढी राशिको पुरस्कार राशिको खेल हुन थालेको रारा गोल्डकप फुटबल प्रतियोगिता ०५८ सालबाट सुरु भएको हो।
प्रतिक्रिया राख्नुहोस्