लिफ्ट आयोजना सम्पन्न नहुँदा खानेपानीको समस्या
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा न-५ र ६ को अधिकांश स्थानमा खानेपानी समस्या रहेको छ ।

वडा न-५ को ज्यामिरे वडा न-६ को खनीयाखर्क, गुठ आसपास लगायतको स्थानमा समेत खानेपानीको चरम समस्या छ । नजिकैको कुवा, मुहान तथा पुरानो खानेपानी वितरणबाट पानी नियमित नआउने भएपछि खानेपानीको समस्या बढ्दै गएको हो । तीन बर्ष अघिबाट बृहत् लिफ्टीङ खानेपानी आयोजनाको काम सुरु भएपनि सम्पन्न नहुँदा स्थानीयको समस्या जस्ताको तस्तै रहेको छ । महालक्ष्मी नगरपालिका वडा नं. ५ मा पर्ने ज्यामिरे गाँउमा करिब ८० परिवारको बसोबास रहेको रहेको छ । यस्तै वडा न-६ का खनीयाखर्क, गुठ आसपास लगायतको स्थानमा करिब एक सय ५० बढी परिवारको बसोबास रहेको छ । यी स्थानमा पानीको निक्कै दुख छ ।

गाउँका अधिकांश घर वरिपरि पानीका ड्रमले घेरिएका छन् । जहाँ आकाशबाट आएको पानी केही दिनको लागी जोहो गर्ने गरिएको छ । गाँउमा खानेपानी ल्याउने २०४० सालमा ल्याएको बृहत् खानेपानी आयोजना समेत निक्कै पुरानो भएको छ । यो वितरण प्रणाली मार्फत प्रत्येक घरमा दिन बिराएर ५० देखि सय लिटर मात्र पानी आउने गरेको छ । थारै पानीले भएपनि स्थानीयले जसोतसो चलाइरहेका छन् । मुख्य लाइनको पानी पटक पटक बिग्रिन्छ । गाँउमा रहेको तिन वटा कुवा २०७२ सालको भूकम्पपछि सुकेपछि गाँउमा खानेपानीको समस्या छ ।

महालक्ष्मी नगरपालिका वडा न-६ खनियाखर्कका हुकुम बहादुर बस्नेत पानीको जोहो गर्नका लागि ड्रममा भरेर खानुपर्ने अवस्था रहेको बताउनु हुन्छ । उहाँका अनुसार आकाशबाट केही समय पानी नपरेमा तिन घण्टा टाढाको अरुण तथा माङ्माया लगायतको नदीबाट पानी ओसारेर खानुपर्ने अवस्था रहेको छ । यस्तै वडा न-५ की ज्यामिरेकी जय लक्ष्मी बस्नेतले पानी कै अभावले बारी तथा खेत बाँझै रहेका छन् ।

सो क्षेत्र मात्र नभई महालक्ष्मी नगरपालिकाको वडा न-५, ६ र ७ लाई लक्षित गरी सङ्घीय सरकारको नौ करोड ५२ लाख रुपैयाँको लागतमा तिन बर्ष अघिबाट बृहत् लिफ्टीङ खानेपानी आयोजना सुरु भएपनि दुई पटक म्याद थप हुँदा समेत सम्पन्न हुन सकेको छैन । यो स्थानका बासिन्दालाई पानी खुवाउन बृहत् लिफ्टीङ खानेपानी आयोजनालाई समयमै काम सम्पन्न गर्न दवाव दिइरहेको तथा अन्य विकल्पको बारेमा समेत छलफल भइरहेका महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायको भनाइ छ।

आर्थिक बर्ष २०७८/७९ मा सुरु भएको काम दुई वर्षमा अर्थात् २०८०/८१ सम्पन्न हुनुपर्ने थियो । तर, समयमै काम सम्पन्न नहुँदा आयोजनाको दुई पटक ६/६ महिनाका लागि म्याद थप भइसकेको छ । २०८१ जेठमा पहिलोपटक ६ महिनाका लागि म्याद थप भएकोमा २०८१ मंसिरमा दोस्रोपटक म्याद थप गरिएको छ । दोस्रोपटक थप गरिएको समय २०८२ जेठमा सकिने भएको छ । हुन त आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय धनकुटाले जनाएको छ । १० वटा ट्याङ्की निर्माण, ३८ किलोमिटर पाइप बिछाउने, प्रशोधन प्रणालीको काम भइसकेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय धनकुटाका प्रमुख भोला प्रसाद थापाले बताउनु भयो।

आयोजना सम्पन्न भएपछि प्रतिसेकेण्ड ८ लिटरको दरले पानी मुख्य ट्याङकीमा जम्मा भई सहायक ट्याङकीमा पठाइ वितरण गरिने योजना रहेको छ । यो योजनाबाट खनिया खर्क, सिमपानी लगायतका स्थान सहित महालक्ष्मीका ५, ६ र ७ वडाका १ हजार ७ सय ६६ घर धुरी लाभान्वित हुने भएका छन् । लामो समयसम्म पानीको समस्या भोगेका स्थानीय यो आयोजना सम्पन्न भएपछि पानीको समस्या हट्नेमा आशावादी छन् ।

प्रतिक्रिया राख्नुहोस्