सगरमाथा संवाद: विश्वका १७५ जना प्रमुख तथा प्रतिनिधि सहभागी हुँदै
काठमाडौँ । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा विभिन्न मुलुकका १ सय ७५ जना प्रमुख तथा प्रतिनिधिसहित ६१ बढी विकास सहयता संस्था, विश्वविद्यालय, सोध केन्द्र, नागरिक समाज र गैरसरकारी संस्थाहरूको सहभागिता हुने भएको छ ।

जेठ २ देखि ४ गतेसम्म काठमाडौँको सोल्टी होटलमा हुने सगरमाथा संवाद सम्बन्धी जानकारी दिन आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा १२ देशबाट उच्चस्तरीय प्रतिनिधि मण्डलसहित विश्वका विभिन्न मुलुकका १ सय ७५ जना प्रतिनिधीहरुको सहभागिता रहने जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी विश्वव्यापी छविलाई उचित रुपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री डा. राणाले सगरमाथा संवाद नेपालका लागि मात्र नभई सबैका राष्ट्रका लागि विश्वव्यापी मञ्चको रुपमा एक महत्वपूर्ण अवसर पनि भएको बताउनुभयो ।
परराष्ट्रमन्त्री डा. राणाले यस सगरमाथा संवादको पहिलो संस्करणलाई ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ हयुमानीटी’ भन्ने थिमका साथ तीन दिनको छलफल तथा साइडलाइन वार्ताहरू मूल ६ वटा विषयमा केन्द्रित हुने जानकारी दिनुभयो ।
यस्तै तीन दिनको बहू स्तरीय, बहुपक्षीय छलफलको निष्कर्षमा आधारित काठमाडौँ घोषणा पत्र समेत जारी गरिने भएको छ ।
संवादको पहिलो दिन उद्घाटन समारोहमा आमन्त्रित विशिष्ट विदेशी र स्वदेशी पाहुनाहरू सहभागी हुने संवादको मुख्य औपचारिक कार्यक्रम रहेको छ । उक्त समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ ।
यसैगरी, कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने तथा चीन र भारतका तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व गरेर आउनुहुने विशिष्ट पाहुनाहरू र सिओपी २९ का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यस्तै संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिवले पठाउनुभएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ । यो कार्यक्रम जेठ २ गते शुक्रबार बिहान ९ः३० मा सुरु हुने र डेढ घण्टापछि ११ बजे सम्पन्न हुने छ ।
यसैगरी, अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिने यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो पूर्ण सत्र राखिएको छ । संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय सङ्गठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ । हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ भने प्रत्येक प्रतिनिधिमण्डललाई पाँच मिनेट बोल्ने समय दिइने छ ।
कार्यक्रम ११ः३० मा सुरु भई अपराह्न १ः३० बजे सकिने छ ।
प्रतिक्रिया राख्नुहोस्