प्रतिनिधिसभा बैठक: विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि छलफल सुरु

काठमाडौँ । प्रतिनिधिसभामा आजदेखि आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।
छलफलमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विद्युत् निर्यात, पर्यटनको विकास, सूचना प्रविधिको प्रयोगलगायतलाई महत्व दिएर बजेट ल्याउने बताउनुभयो ।
सांसद कार्कीले गुणस्तरीय शिक्षा र स्वास्थ्य पाउने प्रत्येक नागरिकको मौलिक हक भएकाले उपलब्धिपूर्ण जनशक्ति उत्पादन गर्न सरकारले शिक्षामा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको बताउनुभयो ।
छलफलमा नेकपा एमालेका सांसद गोकर्ण विष्टले आर्थिक असमानताको अन्त्य गर्दै संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्रका लागि न्यायोचित वितरणमा आधारित बजेट छुट्ट्याउनुपर्ने बताउनुभयो ।
सांसद विष्टले आयात निर्यातको सन्तुलनलाई ध्यान दिँदै डिजिटल अर्थतन्त्र निर्माण गर्ने कुरामा विनियोजन विधेयकले जोड दिएको बताउनुभयो ।
त्यस्तै माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकाससहितको योजनाबद्ध र समावेशी विकासको ढाँचा आजको आवश्यकता रहेको भन्दै त्यसैअनुसार बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो ।
छलफलमा रास्वपाका सांसद मनिष झाले सरकारका नीतिहरू बाँझिने कारणले खर्च बढेको भन्दै त्यसको सुधार गर्न एकीकृत योजना र एकीकृत बस्ती विकासमा बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो ।
राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले कर प्रणालीलाई डिजिटल बनाउन सके कर चोरी हुनबाट जोगिने र विदेशीसँग ऋण सहायता लिन नपर्ने अवस्था आउने हुँदा आगामी बजेटले कर प्रणालीलाई डिजिटलाइज गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले धारणा राख्नेक्रम जारी छ ।
प्रतिक्रिया राख्नुहोस्