तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीलाई सुन्ने मात्र होइन, अब देख्ने गरी पीएसवी अघि बढ्छ : मन्त्री गुरुङ 

सुर्खेत ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णालीलाई सुन्ने मात्र होइन अब देख्ने गरी (सार्वजनिक प्रसारण सेवा) पीएसवी अघि बढेको बताउनुभएको छ । 

आज सुर्खेतको वीरेन्द्रनगरमा नेपाल टेलिभिजनको कर्णाली ब्युरो कार्यालयको उद्घाटन तथा रेडियो नेपालबाट खस भाषाको समाचार शुभारम्भ गर्दै उहाँले सार्वजनिक प्रसारण सेवा मार्फत नेपाल टेलिभिजन र रेडियो नेपाललाई अझ बढी जनता केन्द्रित बनाउन लागिएको बताउनु भएको हो । 

उहाँले जनतालाई पहिलो प्राथमिकतामा राखेर कर्णाली प्रदेशका विभिन्न गतिविधिलाईलाई रेडियोसँगै टेलिभिजनमार्फत सुन्ने र देखाउने जिम्मेवारी पीएसवीले लिएको बताउनु भयो । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई केन्द्रबिन्दुमा राखेर नेपाल टेलिभिजनको कर्णाली ब्युरो कार्यालय र रेडियो नेपालबाट खस भाषाको समाचार शुभारम्भ गरिदिएको पीएसवीसँगै नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नु भयो । 

उहाँले कर्णालीको भूगोललाई ध्यानमा राखेर भएपनि थप कर्णाली डिजिटलाईजेशन गर्न संघ सरकारलाई सहयोग आग्रह गर्नु भयो । लोप हुँदै गइरहेको खस भाषाको उद्गम थलो कर्णालीलाई संघ सरकारले विशेष प्राथमिकता दिएर सकारात्मक सन्देश पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष महेन्द्र विष्टले जनता केन्द्रित सार्वजनिक प्रसारण सेवालाई भरपर्दो र बलियो बनाउन तीनै तहका सरकारको सहयोगको खाँचो रहेको बताउनु भयो ।

 कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नेपाल टेलिभिजनको कर्णाली ब्युरो कार्यालयको उद्घाटन तथा रेडियो नेपालबाट खस भाषाको समाचार शुभारम्भ कार्यक्रममा शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याललगायत संघ तथा प्रदेश सरकारका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button