तपाईँ सुन्दै हुनुहुन्छः

‘रेडियो नेपालको आरोह अवरोह, ७५ वर्षको यात्रा’ विमोचन 

अवकाशप्राप्त कर्मचारीलाई सम्मान 

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आरोह अवरोह, ७५ वर्षको यात्रा नामक पुस्तकको आज बिमोचन गरिएको छ ।

रेडियो नेपालले यस वर्ष आफ्नो हीरक महोत्सव मनाइरहेको सन्दर्भमा रेडियो नेपालको समाचार, कार्यक्रम, सङ्गीत र प्रविधि लगायतका विषयसँग सम्बन्धित इतिहास र वर्तमान अवस्थाका बारेमा पुस्तकमा समेटिएको छ ।

रेडियो नेपालको केन्द्रिय प्रसारण केन्द्र सिंहदरबारमा आयोजित समारोहमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पुस्तकको विमोचन गर्नुभयो ।

समारोहमा सेवा निवृत्त कर्मचारीहरूलाई सम्मान पनि गरियो ।

त्यस अवसरमा कार्यकारी अध्यक्ष डाक्टर विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजन कानूनी रुपमा सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भई कार्यान्वयनमा आइसकेको भए पनि प्रक्रियागत रुपमा अझै धेरै काम गर्न बाँकी रहेकोले सेवा निवृत्त कर्मचारीहरूको पनि थप साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि अझै बढी क्रियाशील भएर संस्थाको विकासमा योगदान पुर्‍याउन सेवा निवृत्त कर्मचारीहरूलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

यसैगरी सार्वजनिक सेवा प्रसारण नेपालका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले क्रियाशील र निवृत्त कर्मचारीहरू संस्थाको सम्पत्ति भएकाले सेवा निवृत्त कर्मचारीहरूको साथ र सहयोग भविष्यमा समेत आवश्यक भएको बताउनुभयो ।

नायब कार्यकारी निर्देशकबाट सेवा निवृत्त हुनुभएका खगेन्द्र खत्रीले इमान्दार र लगनशील भएर संस्थाको उन्नतिमा जुट्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा रेडियो नेपालका निमित्त नायब कार्यकारी निर्देशक पुष्करराज गौतम, आर्थिक महाशाखाका प्रमुख मनोज चौधरी, समाचार महाशाखाका प्रमुख पवन प्याकुरेल, रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेतनारायण पौडेल र रेडियो नेपाल कर्मचारी युनियनका उपाध्यक्ष बेन्जु सुबेदी सेवा निवृत्त कर्मचारीहरूको जीवन थप सक्रियतापूर्वक अघि बढोस् भन्दै शुभकामना दिनुभएको थियो ।

नायब कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त हुनुभएका खत्री २०४५ साल साउनमा रेडियो नेपालमा प्रवेश गरी २०४९ सालमा स्थायी हुनुभएको थियो भने प्राविधिक अधिकृतबाट सेवा निवृत्त हुनुभएका रविप्रसाद कर्माचार्य २०४९ साल फागुनमा सेवा प्रवेश गर्नुभएको थियो । 

फोटो : रोम थापा

प्रतिक्रिया राख्नुहोस्

Back to top button